काठमाडौं । राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडिओ बनाउने एकजना पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार इजास लिम्बुलाई काठमाडौंबाट पक्राउ गरेको हो।
भिडियोका गायक गेल्जङ दोर्जे तामाङलाई प्रहरीले खोजी गरिरहेको अपराध महाशाखाले जानकारी दिएको छ। सोमबार एक युट्युव च्यानल मार्फत ‘देशद्रोही’ नामको म्युजिक भिडिओ सार्वजनिक भएको थियो। त्यस भिडिओको ४० औं सेकेन्डमा गायक तामाङले झण्डा जलाएको भिडियो छ ।
झण्डा जलाएको भिडिओको चौतर्फी विरोध भएपछि महानगरीय अपराध महशाखाको टोलीले अनुसन्धान थालेको हो। उक्त म्युजिक भिडिओ मकवानपुरको बागमति गाउँपालिका–३ स्थित सल्लेनीको विष्णु आधारभूत विदयालयमा खिचिएको देखिन्छ।
के हुन्छ कारबाही ?
राष्ट्रिय झण्डा जलाउने कार्य ‘राष्ट्रिय तथा सार्वजनिक सम्पदा बिरुद्धका कसूर’ अन्तरगत राखेर मुलुकी अपराध संहिताले जेलसम्मको सजाय हुने व्यवस्था गरेको छ।
संहितको दफा १५१ को उपदफा १ मा उल्लेख गरिएको छ, ‘नेपाल सरकार बिरुद्ध घृणा फैलाउने नियतले नेपालको राष्ट्रिय गानको अपमान गर्न, नेपालको झण्डा जलाउन, त्यसको जानीजानी अपमान गर्न वा सार्वजनिक नैतिकता, शिष्टाचार वा सदाचारको दृष्टिकोणले प्रयोग गर्न नहुने ठाउँ, वस्तु वा अवस्थामा त्यस्तो गान, झण्डा वा नेपालको निशाना छाप प्रयोग गर्न हुँदैन’ भन्ने कानुनी व्यवस्था गरेको छ।
यसरी नेपालको झण्डा जलाउनेलाई सोही ऐनले तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म सजाय हुने व्यवस्था गरेको छ।