इपान अध्यक्षमा आचार्य सर्वसम्मत, को-को आए कार्यसमितिमा ?

इपान अध्यक्षमा आचार्य सर्वसम्मत, को-को आए कार्यसमितिमा ?

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान) को अध्यक्षमा वरिष्ठ उद्यमी कृष्णप्रसाद आचार्य सर्वसम्मत चयन भएका छन् । आइतबार साँझ सम्पन्न इपानको भेलाले आचार्यलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको गरेको हो । 

बाम र प्रजातान्त्रिक प्यानलबीच निर्वाचनमार्फत नेतृत्व चयन गर्ने रस्साकस्सीका बीच इपानमा आचार्यका नाममा सर्वसम्मति जुटेको हो । बिन्दवासिनी हाइड्रो पावर कम्पनी लिमिटेडका संस्थापक अध्यक्ष आचार्य निर्माणाधीन १ सय ५५ मेगावाटको धुन्साखोला (तेह्रथुम), ४८।८ मेगावाटको खिम्ति–२ (दोलखा), २० मेगावाटको लाङटाङखोला (रसुवा) र व्यवसायिक उत्पादनमा रहेको मोदी खोला–१ (पर्वत) हाइड्रो पावरसँग सम्वद्ध छन् । आचार्य २०६३-०६३ को जनआन्दोलनपछि गठित अन्तरिम संसदमा उद्योगी–व्यवसायीका तर्फबाट सांसदसमेत थिए ।

यसअघि ९ सदस्यीय रहेको इपानको कार्यसमिति विधान संशोधन गरी १६ सदस्यीय बनाइएको छ । समितिका तीन उपाध्यक्षमा क्रमशः आशिष गर्ग, गणेश कार्की र मोहन डाँगी चयन भए ।

यस्तै महासचिवमा गोरे शेर्पा, सचिवमा भरत खत्री, बलराम खतिवडा र राम आचार्य तथा कोषाध्यक्षमा आनन्द चौधरी चुनिएका छन् । कार्यसमिति सदस्यहरुमा प्रकाश दुलाल, भरत खड्का, भरत लामिछाने र उत्तम ब्लोन तथा महिला सदस्यमा अविज्ञा मल्ल र कविता कँडेल सर्वसम्मत चयन भएको इपानले जनाएको छ । बाँकी दुई सदस्य कार्यसमितिले पछि मनोनयन गर्नेछ ।