जब श्रीकृष्णको कुरा आउँछ, सँगै राधाको नाम पनि जोडिएको हुन्छ ।
तर, धेरैलाई थाह नहुन सक्छ, श्रीकृष्ण र राधाको विवाह नै भएको थिएन ।
कृष्णको विवाह त रुक्मिणी, सत्यभामा, जाम्बवन्ती र कालिन्दीसँग भएको थियो । पुराणहरूमा कतै कृष्णको ८ पत्नी रहेको कुरा पनि उल्लेख छ ।
४ वा ८ पत्नी भएपनि कृष्णको विवाह राधासँग किन भएन ? किन कृष्णले रुक्मिणीलाई भगाएर भागी विवाह गरे ?
श्रीकृष्ण भगवान् विष्णुको अवतार थिए, रुक्मिणी लक्ष्मीको अवतार थिइन् ।
रुक्मिणीका दाजु रुक्मीले उनको विवाह शिशुपालसँग गर्दिन आँटेपछि कृष्णले रुक्मिणीकै इच्छाबमोजिम उनको हरण गरेका थिए ।
कृष्ण र रुक्मिणीको भागी विवाह भएको भन्दा फरक नपर्ला ।
शिशुपाल कृष्णकै फुपूका छोरा भएपनि उनका परम शत्रु थिए, जसलाई पछि कृष्णले नै यो धर्तीबाट मुक्ति दिए ।
तर श्रीकृष्णको नाम सम्झिने बित्तिकै सबैले नाम लिने र पत्नीको रूपमा बुझ्ने राधासँग किन विवाह भएन त ?
कृष्ण र राधाको भेट बालापनमै वृन्दावनमा भएको थियो । पहिलो भेटमा नै यी दुईबीच प्रेम जागृत भएको थियो ।
कृष्ण राधालाई बाँसुरीको धुन सुनाउँथे अनि राधा मन्त्रमुग्ध हुन्थिन् ।
जब गोकुलबाट कृष्ण मथुरा गए (जहाँ उनले मामा कंशको अत्याचार अन्त्य गर्नु थियो) त्यसपछि राधा र कृष्णको कहिल्यै भेट भएन ।
राधा र कृष्णको प्रेम आध्यात्मिक थियो ।
मथुरा जानुअघि जब एकपटक कृष्णले राधालाई विवाहको प्रस्ताव राखेका थिए तब राधाले भनेकी थिइन्– कोही आफ्नै आत्मासँग पनि विवाह गर्छ र ?
कतिपय धार्मिक ग्रन्थमा राधा र कृष्ण दुई शरीर एक आत्मा थिए भन्ने पनि उल्लेख पाइन्छ ।
राधा र कृष्णको प्रेम आत्मीय थियो । यी साँचो प्रेमका प्रतीक थिए ।
यी दुईबीच विवाह नहुनुको अर्को कारण पनि शास्त्रहरूमा भेटिन्छ ।
धर्तीमा अवतरण गर्नुअघि राधा र कृष्ण गोलोकमा रहन्थे ।
यसैक्रममा एकदिन श्रीकृष्णका परम् भक्तसँग राधाको बहस पर्यो ।
उनले ती भक्तलाई श्राप दिइन्– तिम्रो जन्म धर्ती लोकमा राक्षस कुलमा होस् ।
त्यसपछि ती भक्तले राधालाई पनि श्राप दिए– तपाईंको पनि जन्म धर्ती लोकमा होस् र सय वर्षसम्म आफ्नो प्रियतमसँग बिछोडिएर बस्नु परोस् ।
भनिन्छ, राधालाई धर्तीमा जन्म लिएपछि पनि यो कुराको ज्ञान थियो र उनी श्राप भोगिरहेकी थिइन् ।