काठमाडौं । काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले कोरोना परीक्षणमा धेरै खर्च गर्न नहुने बताएका छन् । बाहिरबाट आउनेका करण काठमाडौं उपत्यकामा कोरोना बढेको बताउँदै उनले नाकामै कडाइ गर्नुपर्ने बताए ।
बाहिरकालाई काठमाडौं प्रवेशमा रोक लगाएमा काठमाडौं उपत्यकामा लकडाउनको आवस्यकता नपर्ने उनले बताए । एक अनलाईनलाई दिएको अन्तर्वार्तामा उनले पीसीआर परीक्षण धेरै गर्दा राज्यलाई ठूलो आर्थिक भार पर्ने र नेपाली रुपैयाँ विदेश जाने भन्दै यसको विकल्प खोज्नुपर्नेमा जोड दिए ।
'बाहिर आउने सबैलाई पीसीआर गरौं भनेर पनि सम्भव छैन । यसले गर्दा अर्थतन्त्रलाई असर गर्छ । हामीले पाउने कति, गुमाउने कति भन्ने कुरा पनि ख्याल गर्नुपर्यो । १ सय रुपैयाँ पाउन १ हजार रुपैयाँ गुमाउनुपर्ने अवस्था आयो भने यसले के असर गर्छ ? अहिले त सरकारले गर्छ भनेर सजिलै जवाफ दिइरहेका छौं । सरकारको पैसा भनेको पनि तपाई हाम्रै पैसा त हो नि ।' शाक्यले भने ।