टीकापुर – कैलालीको भजनी नगरपालिकाले बाढीले मृत्यु भएका परिवारका आफन्तलाई किरियाखर्च उपलब्ध गराएको छ ।
अविरल वर्षापछि यही साउन १४ गते आएको बाढीमा परी मृत्यु भएका तीन जनाका परिवारलाई रु २५/२५ हजार किरिया खर्च उपलब्ध गराइएको उपप्रमुख छाया देवकोटाले जानकारी दिइन् ।
बाढीमा मृत्यु भएका भजनी–८ जनकपुरका एजिकल चौधरी, काँढाढिकका ईश्वर शाह र चक्र विकका परिवारलाई सहयोग प्रदान गरिएको हो ।
उनले भनिन्, “रकमसँगै आवश्यक खाद्यान्न र लत्ताकपडासमेत उपलब्ध गराएका छौँ, सरकार दुःखमा पनि साथमा छ भन्ने आभाष दिलाउन सहयोग गरेका हौँ ।”
उपप्रमुख देवकोटाले नगरपालिकाले बाढी पीडितलाई सहयोग उपलब्ध गराउन सङ्घीय सरकार र प्रदेश सरकारसँग समेत थप सहयोग माग गरेको जानकारी दिइन् ।
पाँच दिनपछि खाना
बाढीले विस्थापित भजनीका पीडितले पाँच दिनपछि आइतबार खाना पाएका छन् ।
विस्थापितलाई सडकमै सामूहिक मेस सञ्चालन गरिएपछि पेटभरि खाना खाएका पीडित खेमराज पाण्डेले बताए ।
भजनी–८ को सोनाफाँटामा सामूहिक मेस सञ्चालन भएपछि ५०० ले खाना खाएका छन् । ईश्वर प्रेमी सेवा आश्रम जानकी गाउँपालिकाले बाढी पीडितको भोक मेटाउन पथरैया पुलमा सामूहिक मेस सञ्चालन गरेको हो ।
“पाँच दिनपछि दालभात खान पाइयो, बल्ल पेट भरियो”, पीडित सुन्ता विकले भनिन्, “जति आए चिउरा र चाउचाउ दिए, दालभात पनि खान पाइयो, पेट भरियो ।”
भजनी–८ कै सुरवी चौधरीका चार वर्षका छोराले पनि पेटभरि दालभात खाए ।
“आमा भात खाने भनी सताउँथ्यो, बच्चाले अन्य खानेकुरा खाएर चित्त बुझाएकै थिएन”, सुरवीले भनिन्, “आज बच्चाले धित मारेर खाएको देख्दा झन पीडा भएको छ । हाम्रो जिन्दगी यस्तो भोक र त्रासमा सडकमा बास भएको छ ।”
ईश्वरप्रेमी सेवा आश्रमका पिठाधीश ईश्वर चैतन्य महाराजले यस्तो विपत्तिमा भोक मेट्ने अधिकार सबैलाई छ भनी आश्रमले सकेको सहयोग गरेको बताए ।
भजनी नगरपालिकाले पनि पीडितलाई राहत वितरण शुरु गरेको छ । दुर्गा देवकोटा/रासस