बाँके । भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालले एक विज्ञप्तिमार्फत पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा २८ जनामा संक्रमण पुष्टि भएको जनाएको हो ।
नयाँ थपिएका सङ्क्रमितहरू बर्दियाका १० जना, दाङका ५ जना र रोल्पाका १३ जना छन् । उनीहरूमध्ये डेढ वर्षकी एक बालिकासहित ७ जना महिला र २१ जना पुरुष छन् ।
यता पछिल्लो चौबिस घण्टामा कर्णाली प्रदेशमा १२ जना कोरोना सङ्क्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार सुर्खेत, दैलेख, जुम्ला र चौरजहारी प्रयोगशालामा गरिएको पीसीआर परीक्षणका क्रममा १२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।