काठमाडौं । साझा यातायात सहकारी संस्थाले काठमाडौं उपत्यकामा साझा बस चलाउने भएको छ । आगामी साउन १ गतेबाट काठमाडौं उपत्यकाभित्र बस चलाउने तयारी छ । हालै सरकारले स्वास्थ्य–सुरक्षाका मापदण्ड पालन गरी सार्वजनिक यातायात चलाउन दिने निर्णय गरेको थियो । सरकारको निर्णयअनुसार गत शुक्रबारदेखि नै सार्वजनिक यातायातका गाडी गुड्न सक्थे । व्यवसायीहरूले सरकारले आफ्ना माग सुनाइ नै नगरी एकपक्षीय निर्णय गरेको आरोप लगाएका छन् ।
सरकारले काठमाडौं उपत्यकाभित्र तीनवटै जिल्लामा र उपत्यकाबाहिर एउटा जिल्लाभित्र मात्र चलाउन पाउने निर्णय गरेको थियो । व्यवसायीहरूले भने गाडी निकालेका छैनन् । सार्वजनिक यातायातमा निजी क्षेत्र मात्र छ । सरकारसमेत अंशियार रहेको साझा यातायातले भने उपत्यकाभित्र गाडी चलाउने निर्णय गरेको छ । साउन १ गतेदेखि उपत्यकाभित्र साझा यातायात सञ्चालन गर्ने तयारी भइरहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत भुषण तुलाधारले जानकारी दिए ।
साझा यातायातका केही बसहरू लकडाउनकै अवधिमा पनि प्रयोग भएका छन् । विदेशबाट हवाई उद्धार गरिएकाहरूलाई विमानस्थलबाट होल्डिङ सेन्टर पुर्याउन साझा बस प्रयोग गरिएका छन् । तुलाधरका अनुसार साढे ३ महिना थन्किएर बसेका गाडी मर्मत गर्नुपर्ने अवस्था छ । ‘पहिले गाडी मर्मत गर्नुपर्छ, लामो समयदेखि थन्किएर बसेका छन्,’ उनले भने, ‘चालक र सहचालक गाउँबाट फर्किएका छैनन्, उनीहरूलाई कसरी फर्काउने हो, त्यो पनि सोच्नुपर्नेछ ।’
अहिले साझा यातायातसँग कुल ७१ वटा बस छन् । यीमध्ये ६८ वटा काठमाडौं उपत्यकाभित्र र ४ वटा लामो दूरीमा चल्ने गरेका छन् ।