काठमाडौंमा सङ्क्रमित थपिए, चहलपहल घट्यो

काठमाडौंमा सङ्क्रमित थपिए, चहलपहल घट्यो

काठमाडौं । काठमाडौंको उत्तर पूर्वी भेगका २ नगरपालिकामा बुधबार २ कोरोना सङ्क्रमित पुष्टि भएपछि यस क्षेत्रको चहलपहल घटेको छ । कागेश्वरी मनोहरा नगर अस्पताल मूलपानीबाट यही असार २२ गते स्वाब सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा २ जनामा पोजिटिभ पुष्टि भएको हो । 

पीसीआर विधिबाट परीक्षणका लागि २८ जनाको स्वाब लगिएकामा बुधबार दिउँसो २ जनामा पोजिटिभ पुष्टि भएको नगर अस्पतालका प्रमुख डा। विप्लब अधिकारीले  जानकारी दिए । नगर अस्पतालबाट हप्तामा २ दिन सोमबार र शुक्रबार सो परीक्षणका लागि स्वाब सङ्कलन गर्ने गरिएको छ ।

कोरोना पोजिटिभ प्राप्त भएकामा गोकर्णेश्वर नगरपालिका(५ जोरपाटीका १ र कागेश्वरी मनोहरा नगरपालिका(६ मूलपानीस्थित सृजनाटोलका १ गरी २ जना छन् । दुवै जना केही दिन अघि साउदी र दुबईबाट स्वदेश फर्किएका हुन् । दुवै जना युवा उमेर समूहका भएको अस्पतालले जनाएको छ । ती क्षेत्रका मानिसमा कोरोना पोजिटिभको जानकारी पाएपछि असारको पहिलो सातादेखि बढेको चहलपहलमा कमी आएको छ ।

बुधबार दिउँसो २ जनामा पोजिटिभ को खबर फैलिएपछि धेरैले आ आफ्ना व्यापार व्यसाय बन्द गरेका थिए । नजिकै बस्ने मानिसमा कोरोना पोजिटिभ आएको खबर सुनेपछि जोरपाटी चोकमा कम्प्युटर इन्ष्टिच्युट सञ्चालन गर्ने राजेन्द्र डङ्गोल व्यवसाय बन्द गरी घर फर्किएका थिए । यसअघि नेपाल मेडिकल कलेज अत्तरखेलमा भर्ना भएका दुई जनामा यही असार १५ गते कोरोना पोजिटिभ भेटिएको थियो ।

पोजिटिभ भेटिएका गोकर्णेश्वर ७ शिवचोककी १९ वर्षीय महिला र शंखरापुर नगरपालिका(४ फेदीकी ३९ वर्षीय महिलाको भने ट्राभल हिस्ट्री नभएको गोकर्णेश्वर नगरपालिका स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद उपाध्यायले बताए । यसैगरी, गोकर्णेश्वर नगरपालिका(६ तामाङ गुम्बा नजिकैका १ महिलामा पनि न्यूरो अस्पताल बाँसबारीमा उपचारका क्रममा पीसीआर परीक्षण गर्दा पोजिटिभ भेटिएको शाखाले जनाएको छ ।

नगर क्षेत्रका सबै सङ्क्रमितलाई हाल विभिन्न अस्पतालको आइसोलेसनमा राखी उपचार भइरहेको छ । सङ्क्रमितको नजिकको परिवारका ११ जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि सो प्रयोगशाला टेकुमा पठाइएको छ । स्वाब सङ्कलन गरिएका सबैलाई नगरपालिकाका विभिन्न क्वारेन्टाइनमा राखिएको जनाइएको छ ।