धनुषा । प्रदेश २ सरकारले जनकपुरस्थित प्रादेशिक अस्पतालको आइसोलेशनमा मृत्यु भएका धनुषा हंसपुर नगरपालिकाका राजु सदाको परिवारलाई रु पाँच लाख सहयोग गर्ने भएको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले सदाको परिवारलाई अन्तरिम राहतस्वरुप पाँच लाख सहयोग गर्ने आज जानकारी दिए । घटनाको छानबिन गर्न गठित समितिले काम शुरु गरिसकेको र छानबिनमा दोषी देखिनेलाई कारवाही गरिने उनले बताए ।
गत जेठ ३ गते भारतको अहमदावादबाट आएका सदा गाउँकै क्वारेन्टिनमा रहेका थिए । १७ दिनसम्म क्वारेन्टिनमै बसेपछि उनलाई झाडापखाला भएपछि टिप्परमा बसाएर प्रादेशिक अस्पतालको ढोकासम्म ल्याइएको थियो । त्यही उनको स्वाब सङ्कलन गरिएको र समयमै रिपोर्ट नआएका कारण झाडापाखालाको समेत राम्रो उपचार नपाइ सोमबार मृत्यु भएको थियो ।
प्रादेशिक अस्पताल जनकपुरधामको आइसोलेशन कक्षमै उपचार नपाएर सदाको मृत्यु भएपछि प्रदेश सरकारले छानबिन समिति गठन गरेको छ । समितिले सात दिनको म्याद पाएको छ ।
समितिको संयोजकमा स्वास्थ्य निर्देशनालयका निर्देशक हरिश्चन्द्र साह र सदस्यमा प्रदेश २ का अस्पताल विकास तथा चिकित्सा सेवाका डा नवल किशोर झा र मन्त्रालयका महाशाखा प्रमुख दिलीपकुमार प्रधान रहेका छन् ।