नेपालको जनसंख्या तीन करोड नाघ्यो, दैनिक वृद्धिदर कति ?

नेपालको जनसंख्या तीन करोड नाघ्यो, दैनिक वृद्धिदर कति ?

काठमाडौं । नेपालको जनसंख्या तीन करोड नाघेको छ । केन्द्रीय तथ्यांक विभागको जनसंख्या घडीमा शुक्रबार मध्यान्ह नेपालको जनसंख्या ३ करोड ६३४ जना देखाइएको छ । विभागका महानिर्देशक नेविनलाल श्रेष्ठका अनुसार यो वैज्ञानिक आधारमा प्रक्षेपण गरिएको जनसंख्या हो । 

२०६८ को जनगणनाको आधारमा यो घडी सेट गरिएको हो । घडीले जन्मदर, मृत्युदर र बसाईसराई दरको आधारमा जनसंख्या देखाउँछ । २०६८ सालको जनगणना अनुसार नेपालको जनसंख्या २ करोड ६४ लाख ५४ हजार ५०४ थियो । १२ औं राष्ट्रिय जनगणना २०७८ असारमा हुँदैछ ।

दैनिक जनसंख्या वृद्धि एक हजारदेखि एक हजार एक सय रहेको विभागले जानकारी दिएको छ । जनसंख्या वृद्धिदर घट्दो क्रममा रहेको विभागका निर्देशक ढुण्डीराज लामिछाने बताउँछन् । लामिछानेका अनुसार जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा छ । बसाइसराइ अनुपातमा भने खासै फरक नआएको उनले जानकारी दिए ।