काठमाडौं । नेपाली यौनकर्मीका लागि यस वर्षजस्तो खराब कहिल्यै भएको थिएन । चैत ११ मा सुरु भएको राष्ट्रव्यापी लकडाउनयता उनीहरुले ग्राहक पाएका छैनन् । विश्व स्वास्थ्य संगठनले कोभिड-१९ लाई महामारी घोषणा गरेपछि संक्रमण रोकथामका लागि शारीरिक दूरी कायम राख्नुपर्ने जोड दिएकाले यौन व्यवसाय सुकेको छ । यस व्यवसायको मुख्य बिक्री बिन्दु नै शारीरिक आत्मीयता हो ।
पहिले नै अति सीमान्तकृत समूहका धेरैजसो यौनकर्मी लकडाउनपछि भोकै परेका छन् । महिला र बाल अधिकार संगठन कम्युनिटी एक्सन सेन्टर नेपालकी वरिष्ठ कार्यक्रम व्यवस्थापक ओमिता जोशीका अनुसार काठमाडौंमा मात्रै १६ हजारदेखि १८ हजार यौनकर्मी छन् । “यहाँ विभिन्न स्तरका यौनकर्मी छन् । आरामदायक जीवन बिताउनका लागि पर्याप्त पैसा कमाउनेहरूदेखि सडकमा काम गर्नेहरूसम्म । अहिले सबैलाई लकडाउनले नराम्रो असर पारेको छ,” जोशी भन्छिन् ।
यौनिक अल्पसंख्यक अधिकारवादी संस्था ब्लू डायमन्ड सोसाइटीका अध्यक्ष पिंकी गुरुङका अनुसार काठमाडौंमा ५ सय जनाभन्दा बढी ट्रान्सजेन्डर पूर्णतया व्यावसायिक यौनकर्ममा निर्भर छन् । धेरैजसो यौनकर्मी बचत सकिएर टाट पल्टिएका छन् । उनीहरुले कोठा भाडा तिर्न सकेका छैनन् । चिन्ता, डर र चिन्तामा छन् । उनीहरुले मासिक १५ हजारसम्म भाडा तिर्थे । घरमालिकले ट्रान्सजेन्डरलाई अक्सर सामान्य भाडाभन्दा दुई गुणा असुल्छन् ।
“तीन महिनासम्म कुनै आम्दानी नभएकाले मैले परिवारलाई पैसा पठाउन सकेको छैन,“ एक यौनकर्मी गुनासो गर्छिन्, “एक ग्राहक पनि पाउँदिनँ । आफैलाई पनि खर्च छैन ।“ लाजिम्पाटमा भाडाको एक कोठामा बस्ने उनी रत्नपार्क, ठमेल, नयाँ बसपार्क, गँगबुमा सडकछेउ ग्राहक पर्खिन्थिन् र एक रातमा २ हजारदेखि ५ हजारसम्म कमाउँथिन् ।