नयाँदिल्ली । भारतस्थित नेपाली दूतावासले प्रवासी नेपालीहरुलाई कोरोना भाइरस (कोभिड–१९) का महामारीबाट सुरक्षित रहन आग्रह गरेको छ । महामारीको बेला सकेसम्म लामो दुरीको यात्रा नगर्न र गर्नै परेमा सामाजिक दुरी कायम राख्न पनि दूतावासले आग्रह गरेको छ ।
कोभिड–१९सम्बन्धी उच्चस्तरीय समितिले भारतबाट घर फर्किने नेपालीहरुका लागि २० वटा नाका तोकेकोबारे पनि दूतावासले भारतमा रहेका नेपालीलाई प्रष्ट पारेको छ । समितिको गत शुक्रबार बसेको बैठकले विदेशमा रहेका नेपालीहरुलाई सुरक्षित रुपमा नेपाल आउन दिने निर्णय गरेको थियो ।
समितिले पशुपतिनगर, काकडभिट्टा, रानी, सुनौली, ठाडी, माडर, भिट्टामोड, मलंगवा, गौर, वीरगञ्ज, महेशपुर, वेलहिया, तौलिहवा, कृष्णनगर, जमुनाह, सुरजपुर, गौरिफन्टा, गड्डाचौकी, झुलाघाट र दार्चुला नाकाबाट मात्र नेपाल प्रवेश गराउने निर्णय गरेकोबारे दूतावासले ध्यानाकर्षण गराएको हो ।
स्थलमार्गबाट आउनेहरुका लागि २० वटा नाका तोकिएकोले नेपाल सरकारले तोकेको मापदण्ड पूरा गरेर मात्र यात्रा गर्न र नेपाल प्रवेशपछि तोकिएको समयसम्म क्वारेन्टिनमा बस्न पनि दूतावासले आग्रह गरेको छ ।