१०० वर्षीया वृद्धाले जितिन्  कोरोनालाई

१०० वर्षीया वृद्धाले जितिन्  कोरोनालाई

काठमाडौं । इण्डोनेसियामा एक १०० वर्षीया वृद्धा कोरोना भाइरसको सङ्क्रमणपछि पूर्णरुपमा निको भएकी छिन् । स्थानीय सञ्चारमध्यमका अनुसार ती वृद्धा इण्डोनेसियाकी 'सबैभन्दा बढी उमेरकी' बिरामी हुन्, जसलो कोभिड–१९ लाई हराइन् । 


कामतिम नाम गरेकी ती वृद्धा इण्डोनेसियाको दोस्रो ठूलो शहर सुरबायाको एक सरकारी अस्पतालमा भर्ना भएकी थिइन् । झण्डै एक महिनासम्म चिकित्सकको निगरानीमा रहेपछि कामतिमलाई अस्पतालले छुट्टी दिएको हो ।  

पूर्वी जावाका गभर्नर खोफिफा इन्दर पारावासनाले भने, 'कामतिम पूर्णरुपमा ठिक हुँदा अन्य वृद्ध व्यक्तिहरुलाई हिम्मत मिल्नेमा म विश्वस्त छु ।'  कामतिमकी बुहारी सिती अमीनाले समाचार एजेन्सी एएफपीसँगको कुराकानीमा उनले आमा पूर्णरुपमा ठिक हुनुमा सबैभन्दा ठूलो कारण 'व्यक्तिगत अनुशासन र व्यवहारप्रति दृढता' नै भएको बताइन् । 

उनले भनिन्, 'आमाको बारेमा चिकित्सकहरुसँग कुराकानी हुँदा उहाँ निकै साहसी भएको बताउँथे । उहाँलाई बिरामी हुनुको डर थिएन, उहाँ सामग्रीको ध्यान राख्नुहुन्छ र समयमै ‍औषधि लिनेबारेमा निकै सतर्क हुनुहुन्छ । सबैभन्दा ठूलो कुरा उहाँ सधै ठिक हुन चाहनु हुन्थ्यो । यस क्रममा उहाँले एक दिन पनि हिम्मत हार्ने कुरा गर्नु भएन ।'

अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयको अनुसार इण्डोनेसियामा अहिलेसम्म २६ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ भने एक हजार ६ सय १३ जनाको ज्यान गएको छ ।