चितवन । चितवनको भरतपुर अस्पतलामा उपचाररत कोरोना संक्रमित एक महिला डिस्चार्ज भएकी छिन् । हेटौंडा उपमहानगरपालिका वडा नं. १ चौकीटोल घर भएकी एक २५ वर्षीया गर्भवती महिला कोरोना संक्रमण पुष्टि भएको तेस्रो दिनमा नै संक्रमण मुक्त भएपछि अस्पतालले आइतबार बिहान डिस्चार्ज गरेको हो ।
गर्भवती ती महिलाले आफूलाई कोरोनाको संक्रमण कहाँबाट कसरी भयो भन्ने बारेमा नै आश्चार्यमा परेको बताइन् । भरतपुर अस्पतलाका फिजिसियन डा. प्रमोद पौडेलले उनको शरीरमा भाइरल लोड कम भएको र इम्युनिटी पावर पनि राम्रो भएकोले छिटो निको भएको हुनसक्ने बताए । पाँच महिनाकी गर्भवती रहेकी उनको स्वास्थ्य अवस्था सामान्य छ ।
भरतपुर कोभिड–१९ प्रयोगशालामा शनिबार दुईपटकसम्म गरिएको आरटी पीसीआर परीक्षणमा रिर्पोट नेगेटिभ आएपछि उनी कोरोनामुक्त भएकी हुन् । गएको जेठ ९ गते चितवनबाट हेटौंडा गएकी ति महिलाको जेठ १४ गते कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।