लकडाउनका बेला युवतीलाई डेरामा बोलाएर सामूहिक बलात्कार

भक्तपुरमा एक युवतीमाथि सामूहिक बलात्कार भएको छ । मध्यपुर ठिमि नगरपालिका–६ पुरानोठिमिमा गत ८ जेठमा २० वर्षीया युवतीमाथि सामूहिक बलात्कार भएको हो । सोही ठाउँमा डेरा गरी बस्ने रोहित गिरीले आर्थिक प्रलोभनमा पारेर युवतीलाई डेरामा बोलाएका थिए ।

उनले पहिला आफूले युवतीमाथि जबर्जस्ती करणी गरेपछि उनका चार साथीले पालैपालो बलात्कार गरेको प्रहरीले जनाएको छ । रातभर बलात्कार गरेपछि उनीहरु सबै ९ गते बिहान भागेका थिए ।

पीडित युवतीको जाहेरीका आधारमा प्रहरीले बलात्कारमा संलग्नमध्ये एक गिरीका साथी काभ्रे तेमाल गाउँपालिकाका २९ वर्षीय कवाङ लामालाई पक्राउ गरेको छ । गिरीसहित अरु चार जना फरार रहेको र उनीहरुको खोजी जारी रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी दीपक गिरीले जानकारी दिए ।