काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को प्रकोपबाट बच्न विशेष सतर्कता अपनाउँदै ईद पर्व मनाउन आग्रह गरेका छन् ।
ईदका अवसरमा आज शुभकामना दिँदै प्रधानमन्त्री ओलीले यस्ताे आग्रह पनि गरेका हुन् ।
नेपाल बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषतायुक्त सुन्दर देश भएको भन्दै प्रधामन्त्री ओलीले भनेका छन्, “यस्ता विशेषताहरु यहाँ मौलिक पूँजीको रुपमा रहेका एकता छन् । सहिष्णुताको यस पूँजीलाई हामीले समृद्ध देश निर्माणमा सदुपयोग गर्नु पर्दछ ।”
प्रधानमन्त्री ओलीले विभिन्न धर्म र संस्कृतिमा आधारित यस्ता पर्वहरू हाम्रो राष्ट्रिय एकता, पारस्परिक सदभाव र सहिष्णुताको मौलिक पहिचान भएको पनि उल्लेख गरेका छन् ।
उनले भनेका छन्, “विभिन्न धार्मिक तथा सांस्कृतिक आस्थाहरु नेपालमा सम्मानित र संरक्षित छन् ।”
विभिन्न धार्मिक तथा सांस्कृतिक आस्थाहरू मुलुकमा सम्मानित र संरक्षित भएको बताउँदै उनले लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, राष्ट्रिय अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै कायम गरिने अक्षुण्ण एकता, सदभाव र सहिष्णुता हाम्रो राष्ट्रिय विशेषता भएको बताएका छन् ।