काठमाडौँ : कालिमाटीमा कार्यरत प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उहाँको निवासस्थल काठमाडौँ महानगरपालिका–१० नयाँबानेश्वरका तीन घर सिल गरिएको छ ।
प्रहरीको निवास नयाँबानेश्वरस्थित भरोसा अस्पताल पछाडि रहेकाले त्यस क्षेत्रका तीन घर सिल गरी ट्रेसिङ भइरहेको वडा सदस्य नरोज अर्यालले बताए ।
ट्रेसिङ गरिएकाको एक हप्तापछि मात्र स्वाब सङ्कलन गरिने भएको छ । ट्रेसिङ गर्न, स्वाब सङ्कलन गरी परीक्षणपछि प्रतिवेदन आउन हप्तौँ लाग्ने भएपछि वडावासीले लामो समय त्रासमा बिताउनुपरेको उनले बताए ।
सङ्क्रमितको सम्पर्कमा आएका मानिसमा कम्तीमा सात दिनपछि मात्र लक्षण देखिने भएकाले समय लिएर स्वाब सङ्कलन गर्ने गरिएको जनाइएको छ ।
कोरोनाको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका बेला वडाले अत्यावश्यक सेवाका ढल, खानेपानीलगायत समस्या समाधानलाई निरन्तरता दिएको वडा कार्यालयले जनाएको छ ।