चितवनमा ८० जना नयाँ एचआइभी सङ्क्रमित थपिए

चितवनमा  ८० जना नयाँ एचआइभी सङ्क्रमित थपिए

चितवन : चितवनमा वितेको १० महिनामा ८० जना नयाँ एचआइभी संक्रमित फेला परेका छन् ।
भरतपुर अस्पतालमा रहेको एआरटी सेन्टरले दिएको जानकारी अनुसार पछिल्लो १० महिनामा ८० जना नयाँ एचआईभी संक्रमित उपचार गर्न आएका छन् ।

अस्पताल र समुदायस्तरमा १३ हजार ६२५ जनाको एचआईभी परीक्षणमा नयाँ संक्रमित फेला परेका हुन् । जसमध्ये ४३ जना पुरुष, ३५ जना महिला र २ जना बालबालिका रहेका छन् ।

एचआईभी धेरै जसो वैदेशिक रोजगारीबाट फर्किएका, यौनकर्मी महिला, समलिंगि, लागुऔषध प्रयोगकर्ता, असुरक्षित यौन सम्पर्क, रगत, संक्रमित आमाबाट जन्मेका बच्चामा एचआईभी सर्ने खतरा बढी हुने तथ्यांकमा उल्लेख गरीएको छ ।

एचआईभी र टिबी लागेका २१ जना छन् । सन् २०१९ मा १ सय १६ जनाले एआरभी औषधि लिन सुरु गरेका छन् । सन् २०१९ मा ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अधिकांश रक्सी सेवन, लिभर र मुटु रोगी, टिबी भएका संक्रमित भएकाहरु रहेको एआरटी सेन्टरका संयोजक तथा एड्स हेल्थकेयर फाउण्डेशन एएचएफका क्षेत्रीय संयोजक कृष्णहरी सापकोटाले जानकारी दिए ।

एचआईभी संक्रिमित भइसकेपछि शरीरमा भाइरस फैलिन नदिन नियमित ‘एआरभी’ औषधि दिने गरेको साथै एचआईभी संक्रमितहरुको उपचार तथा अन्य आकस्मिक काम गर्दा एचआइभीको खतरा भएका १५ जनालाई पिईपी सेवा प्रदान गरिएको सापकोटाले बताए ।

सन् २००७ देखि २०१९ सम्म १ हजार ७ सय ९३ जना एचआइभी संक्रमितको पत्ता लागेको सेन्टरको अभिलेखमा उल्लेख छ । नेपालमा २९ हजार ८ सय ७८ जना संक्रमित रहेको अनुमान गरीएको छ । अहिलेसम्म १९ हजार ७ सय २ जना एचआइभी संक्रमितको पहिचान भएको छ । सन् २०१८ मा नेपालमा ८ सय ७० जना नयाँ संक्रमित फेला परेका थिए । सो वर्ष ९१० जनाको एचआइभी एड्सका कारणले मृत्यु भएको थियो ।