सप्तरी : सङ्क्रमितहरु बसेको सप्तरीको दुई नगरपालिकामा खोजी खोजी २१७ जनाको ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) परीक्षण गरिएको छ । सङ्क्रमित बसेको नयाँ क्षेत्र पत्ता लागेपछि आज कञ्चनरुप नगरपालिका–१२ मा आरडीटी परीक्षण शुरु गरिएको छ ।
उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केस्थित मस्जिदमा फेला परेका १३ जना कोरोना सङ्क्रमित भुल्केभन्दा पहिले बसेको सप्तरीको सप्तकोशी र कञ्चनरुप नगरपालिका क्षेत्रमा २१७ जनाको आरडीटी परीक्षण गरिएको स्वास्थ्य कार्यालय, सप्तरीले जनाएको छ । आफ्नो समुदायभित्र इस्लाम धर्मको प्रचारप्रसार गर्न हिँडेका जमातीहरु सप्तरीको विभिन्न मस्जिद हुँदै उदयपुर पुगेको पत्ता लाग्दै गएपछि सो क्षेत्रमा तीव्रतासाथ आरडीटी परीक्षण गर्न लागिएको हो ।
सप्तकोशी नगरपालिकाको मस्जिद रहेको वडा नम्बर १, २ र ४ मा १७१ जनाको परीक्षणपछि कञ्चनरुप नगरपालिकामा–२ बरमझियामा २७ जनाको परीक्षण सकिएको छ । यसैगरी कञ्चनरुपको क्वारेन्टाइनमा रहेका ६ र इलाका प्रहरी कार्यालय कञ्चनरुपको थुनाका १० जनाको परीक्षण गरिएको प्राथमिक स्वास्थ्य केन्द्र, कञ्चनरुपले जनाएको छ । उदयपुरको बेलटारबाट सप्तरीको बाटो हुँदै रातको समयमा भागिरहेका तीन भारतीयलाई नियन्त्रणमा लिई सोमबार राति आरडीटी परीक्षण गरिएको प्राथमिक स्वास्थ्य केन्द्र, कञ्चनरुपका सिनियर अहेव डम्बर गुप्ताले बताउनुभयो ।
उनीहरुलाई कञ्चनरुप–५ बाट कोशी टप्पु वन्यजन्तु आरक्ष पथरी ब्यारेकको सेनाले खेतमा समातेका थिए । कञ्चनरुप नगरपालिका–२ स्थित मस्जिदमा बस्नुअघि कञ्चनरुप नगरपालिका १२ चर्खियास्थित मस्जिदमा बसेको पत्ता लागेपछि अहिले स्वास्थ्यकर्मीको टोली परीक्षणका लागि सो स्थान पुगेका छन् । अहेव गुप्ताका अनुसार पहिलो चरणमा चर्खिया क्षेत्रमा सङ्क्रमित जमातीको प्रत्यक्ष सम्पर्कमा आउने २३ जनाको आरडीटी परीक्षण गरिने छ ।
हालसम्म सप्तरीमा ४० जनाको स्वाब र ५४१ जनाको आरडीटी परीक्षण भएको छ । आरडीटी परीक्षण गर्नेमा ६४ महिला र ४७२ पुरुष छन् । २३ जनाको परीक्षण गर्ने लक्ष्यका साथ शुरु गरिएको कञ्चनरुप नगरपालिका–१२ मा अहिले परीक्षण शुरु भइसकेको छ । पिसिआर विधिबाट कोरोना सङ्क्रमणको रिपोर्ट आउन बाँकी सप्तरीको २२ जनाको रिपोर्ट आज नेगेटिभ आएको छ ।
धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबार राति पठाइएको २२ जनाकै रिपोर्ट आज नेगेटिभ आएको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासले जानकारी दिनुभयो । आरडीटी परीक्षणमा पोजिटिभ आएका ७१ वर्षीय एक जेष्ठ नागरिकको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उहाँको परिवारका साथै गाउँलेहरु खुशी भएका छन् । हाल स्थानीय तहद्वारा सञ्चालित क्वारेन्टाइनमा १३१ र होम क्वारेन्टाइनमा २२ जना रहेको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले बताउनुभयो ।