‘इनम प्रकरण’ मा निष्पक्ष छानबिन गर्न विश्वप्रकाश शर्माको माग, प्रधानमन्त्रीलाई प्रश्न- ‘के राज्यकै आडमा अपराधको डिजाइन बन्दैछ ?’

‘इनम प्रकरण’ मा निष्पक्ष छानबिन गर्न विश्वप्रकाश शर्माको माग, प्रधानमन्त्रीलाई प्रश्न- ‘के राज्यकै आडमा अपराधको डिजाइन बन्दैछ ?’

काठमाडौं।  नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले ‘इनम प्रकरण’ को सत्यतथ्य बाहिर ल्याउन निष्पक्ष र पारदर्शी छानबिनको माग गरेका छन्। इनम सापकोटाकी श्रीमतीले राष्ट्रिय मानवअधिकार आयोगमा दिएको उजुरीको प्रसंग उठाउँदै शर्माले यस विषयमा प्रधानमन्त्रीको जवाफसमेत मागेका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै वरिष्ठ उपसभापति शर्माले उजुरीमा उल्लेख भएको ‘कांग्रेस सभापति गगन थापालगायतका व्यक्तिविरुद्ध बयान दिए छोडिदिने, नत्र फँसाइदिने’ भन्ने विषयको वास्तविकता के हो भनी प्रधानमन्त्रीलाई प्रश्न गरेका छन्। उनले मानवअधिकार आयोगमा परेको उक्त उजुरी झुटो हो कि स्वयं राज्यकै आडमा क्रमशः एकपछि अर्को अपराधका डिजाइनहरू बन्दैछन् भन्ने गम्भीर आशंका व्यक्त गरे।

पारदर्शिता लोकतन्त्रको आधारभूत स्तम्भ भएको उल्लेख गर्दै शर्माले ‘इनम प्रकरण’ लाई कुनै ‘सस्पेन्स थ्रिलर फिल्म’ का रूपमा नलिई यसमा जोडिएका सम्पूर्ण सत्यतथ्य जान्न पाउने नागरिकको हक सुनिश्चित हुनुपर्ने बताएका छन्।

षड्यन्त्रका पत्रहरू क्रमशः खुल्दै गएको दाबी गर्दै उनले अब यसको पर्दा पूरै च्यातिनुपर्ने बताए। यस प्रकरणको वास्तविकता बाहिर ल्याउन निष्पक्ष र पारदर्शी छानबिन गराउन संसद्ले तत्काल अग्रसरता लिन जरुरी रहेको शर्माले उल्लेख गरेका छन्।