चीन भ्रमण पूरा गरी रास्वपाको उच्चस्तरीय प्रतिनिधिमण्डल स्वदेश फिर्ता

चीन भ्रमण पूरा गरी रास्वपाको उच्चस्तरीय प्रतिनिधिमण्डल स्वदेश फिर्ता

काठमाडौं।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल चीन भ्रमण सकेर बिहीबार स्वदेश फर्किएको छ । चिनियाँ कम्युनिस्ट पार्टी (सिपीसी) को निमन्त्रणामा रास्वपाका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा गएको टोलीले नोभेम्बर १५ देखि २६ तारिखसम्म चीनका छेन्दु, हाङझाउ र बेइजिङ सहरको भ्रमण गरेको हो ।

भ्रमणका क्रममा प्रतिनिधिमण्डलले चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ नेता ली शुलेईसँग उच्चस्तरीय राजनीतिक संवाद गरेको थियो । उक्त भेटवार्तामा दुई दलबीचको आपसी समझदारी र आगामी दिनमा गर्न सकिने सहकार्यका विषयमा विचार आदानप्रदान भएको रास्वपाले जनाएको छ ।

त्यसैगरी, टोलीले चीनका विभिन्न विश्वविद्यालय, औद्योगिक तथा व्यापारिक क्षेत्र र सांस्कृतिक सम्पदास्थलहरूको अवलोकनसमेत गरेको थियो । भ्रमणका दौरान भूकम्पपछिको पुनर्निर्माण, विपद् व्यवस्थापन, नेपाली उत्पादनको चिनियाँ बजारमा पहुँच विस्तार तथा नेपालमा चिनियाँ लगानीका सम्भावनाबारे विस्तृत छलफल भएको छ ।

भ्रमणमा युवा सीप विकास, पर्यटन, उद्योग, ऊर्जा तथा पूर्वाधार क्षेत्रमा चिनियाँ लगानी भित्र्याउने र विपद् व्यवस्थापनसम्बन्धी भएका छलफलहरूलाई ठोस परिणाममा पुर्‍याउन सम्बन्धित सरकारी निकाय तथा निजी क्षेत्रसँग आवश्यक पहल गरिने रास्वपाले स्पष्ट पारेको छ ।