काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) बीच बिहीबार पाँच घण्टा लामो भेटवार्ता भएको छ। सभापति लामिछानेको बुढानीलकण्ठस्थित निवासमा अपराह्न १ बजेदेखि साँझ ६ बजेसम्म चलेको छलफल आत्मीय र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको लामिछानेको सचिवालयले जनाएको छ।
लामिछानेका स्वकीय सचिव अविनाश आचार्यका अनुसार भेटका क्रममा प्रधानमन्त्री शाहले आफ्नो हालै सम्पन्न भारत भ्रमण, त्यहाँ भएका संवाद तथा प्राप्त उपलब्धिबारे सभापति लामिछानेलाई जानकारी गराएका थिए। प्रधानमन्त्री शाह मंसिर ६ गते भारत भ्रमणमा गएर भोलिपल्ट साँझ स्वदेश फर्किएका थिए।
भेटवार्तामा आगामी निर्वाचन र त्यसको तयारीका सन्दर्भमा पनि दुई नेताबीच विस्तृत कुराकानी भएको छ। समसामयिक राजनीतिक अवस्थासँगै निर्वाचनको तयारी र रणनीतिबारे दुवै पक्षले विचारविमर्श गरेका छन्।
यसैगरी, रास्वपाले सुरु गर्न लागेको पार्टी प्रशिक्षण अभियानका विषयमा पनि भेटमा छलफल भएको छ। पार्टीको संगठनात्मक गतिविधि र प्रशिक्षण कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउने विषयमा दुवै नेताले चासो राखेका थिए।
छलफलका क्रममा मन्त्री, विभिन्न मन्त्रालय र सरकारका समग्र कामकारबाहीबारे समेत समीक्षा भएको सचिवालयले जनाएको छ। साथै, अध्यादेश, विधेयक र आगामी संसद् अधिवेशन आह्वानका विषयमा पनि प्रधानमन्त्री शाह र सभापति लामिछानेबीच महत्वपूर्ण कुराकानी भएको छ।