भीम रावल

प्रधानमन्त्री बालेनको भारत भ्रमणमाथि भीम रावलको कडा प्रहार : ‘सीमा र असमान सन्धिमा मौन बसेर प्रशासनिक स्वायत्तता सुम्पियो’

प्रधानमन्त्री बालेनको भारत भ्रमणमाथि भीम रावलको कडा प्रहार : ‘सीमा र असमान सन्धिमा मौन बसेर प्रशासनिक स्वायत्तता सुम्पियो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता भीम रावलले प्रधानमन्त्री बालेन्द्र शाहको हालैको भारत भ्रमणका क्रममा राष्ट्रिय हित, सीमा विवाद र असमान सन्धिजस्ता संवेदनशील विषयहरू नउठाइएको भन्दै सरकारको कडा आलोचना गरेका छन्।

रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता रावलले २००७ सालयता बाह्य शक्तिको चलखेलका कारण नेपाल प्रयोगशालाजस्तो बन्दै आएको टिप्पणी गरे। सन् १९५० को असमान सन्धि पुनरावलोकन गर्ने विषयमा विगतका प्रधानमन्त्रीहरूले भारत भ्रमणमा कुरा राख्ने गरेको र भारतले समेत स्वीकारेको स्मरण गराउँदै उनले यसपटक प्रधानमन्त्री शाहले उक्त विषय प्रवेश नै नगराएको आरोप लगाए।

प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन भारतले नबुझ्ने बताइसकेको सन्दर्भ उल्लेख गर्दै रावलले यसको कारणबारे नेपाल सरकार र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपाली जनतालाई स्पष्ट जवाफ दिनुपर्ने माग गरे।

व्यापार घाटा र अनुदानको भ्रम

नेपाल–भारत व्यापार घाटा र पारवहन समस्यामाथि प्रश्न उठाउँदै रावलले भारतीय वस्तु बेरोकतोक नेपाल भित्रिने तर नेपाली चिया, जुटलगायतका उत्पादनले भारत प्रवेश पाउन अनेक झन्झट बेहोर्नुपरेको बताए। भ्रमणका क्रममा यस्ता व्यापारिक अवरोध हटाउन कुनै ठोस पहल नभएको उनको भनाइ छ। साथै, भारतबाट साढे दुई खर्ब रुपैयाँ सहयोग प्राप्त भएको प्रचार गरिए पनि त्यसमा ५६ अर्ब रुपैयाँ मात्रै अनुदान रहेको र बाँकी सबै ऋण रहेको तथ्य उनले औँल्याए।

सीमा अतिक्रमण र प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति

सुस्ता, लिम्पियाधुरा, लिपुलेक र कालापानीजस्ता अतिक्रमित नेपाली भू-भागबारे विगतका प्रधानमन्त्रीहरूले भारत भ्रमणमा आवाज उठाउने गरेको भए पनि यसपालि प्रधानमन्त्री शाह मौन बसेको रावलले आरोप लगाए। प्रधानमन्त्री शाहले संसद्मै नेपालले भारतको जमिन मिचेको भनी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उनले भने, “यदि नेपालले एक इन्च पनि भारतको जमिन मिचेको भए भारतले हामीमाथि आक्रमण गरिसक्थ्यो।”

प्रशासनिक संयन्त्रमा बाह्य हस्तक्षेपको विरोध

प्रशासनिक स्वायत्ततामाथि प्रश्न उठाउँदै नेता रावलले प्रहरी, कर्मचारी र कृषि क्षेत्रमा भारतले तालिम दिने गरी गरिएको सम्झौताको कडा विरोध गरे। “कुनै पनि स्वाधीन देशले आफ्नो प्रशासनिक संयन्त्रमा बाह्य सहयोग लिँदैन, तर यसपालि बालेनको भ्रमणमा त्यस्तो सम्झौता गरिएको छ,” उनले भने, “कृषि क्षेत्रमा विदेशी हस्तक्षेप गराउँदा त्यसले सिधै नेपाली जनताको जीवनस्तरमा नकारात्मक प्रभाव पार्छ।”