राप्रपा सुध्रिएर एकताबद्ध भए निर्विकल्प राजनीतिक शक्ति बन्न सक्छ : अध्यक्ष राजेन्द्र लिङ्देन

राप्रपा सुध्रिएर एकताबद्ध भए निर्विकल्प राजनीतिक शक्ति बन्न सक्छ : अध्यक्ष राजेन्द्र लिङ्देन

रुपन्देही । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीभित्रका विकृति, असहयोग र निष्क्रिय संगठनात्मक प्रवृत्ति अन्त्य गर्दै सुशासन, निष्ठा तथा स्पष्ट राजनीतिक दृष्टिकोणका साथ अघि बढ्न नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरेका छन्। उनले आगामी महाधिवेशनलाई लक्षित गर्दै कागजी संगठन निर्माणभन्दा पनि क्रियाशील र प्रभावकारी संगठन निर्माणमा जुट्नुपर्ने बताएका छन्।

बिहीबार भैरहवामा सम्पन्न राप्रपा लुम्बिनी प्रदेश कार्यसमितिको शपथग्रहण कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले निर्वाचनमा हारजित हुनु स्वाभाविक प्रक्रिया भएको बताए। तर, पराजित भएपछि विजयी नेतृत्वलाई असहयोग गर्ने प्रवृत्ति पार्टीका लागि घातक हुने बताउँदै यस्तो राजनीतिक संस्कार नयाँ पुस्ताले पूर्ण रूपमा अन्त्य गर्नुपर्ने उनको भनाइ थियो।

आफ्नो राजनीतिक जीवनको उदाहरण दिँदै उनले भने, “एउटा चुनाव हार्दैमा राजनीति सकिँदैन र एउटा चुनाव जित्दैमा वाहवाही हुने पनि होइन।” प्रतिस्पर्धाको निष्ठासहित पार्टीलाई बलियो बनाउन सबैले एकजुट हुनुपर्नेमा उनले जोड दिए। विगतमा स्थानीय तहको निर्वाचनमा उम्मेदवारसमेत नपाउने अवस्था रहेको र भोट बैंकका लागि मात्र कागजी कमिटी बनाउने प्रवृत्ति देखिएको स्मरण गराउँदै उनले अब वास्तविक रूपमा सक्रिय संगठन निर्माण गर्नुपर्ने बताए।

राजनीतिलाई स्वार्थको माध्यम बनाउन नहुने

अध्यक्ष लिङ्देनले राजनीतिलाई पद, पारिवारिक रवाफ र व्यक्तिगत स्वार्थ पूरा गर्ने माध्यम बनाउन नहुने स्पष्ट पारे। इमानदारी, निष्ठा र सेवाभावलाई राजनीतिको मूल आधार बनाउनुपर्नेमा जोड दिँदै उनले आफ्नो लामो राजनीतिक जीवनमा कहिल्यै भ्रष्टाचार नगरेको दाबी गरे। साथै, देश र पार्टीभित्र भ्रष्टाचारविरुद्ध कठोर अडान लिएर संगठन निर्माण गर्ने आफ्नो दृढ प्रतिबद्धता व्यक्त गरे। राप्रपाले आफ्ना विचार र एजेन्डालाई स्पष्ट रूपमा जनतासमक्ष लैजान सके वर्तमान राजनीतिक परिस्थितिमा देशको निर्विकल्प शक्ति बन्न सक्ने विश्वास उनले व्यक्त गरे।

अनुशासनहीनता र भ्रम फैलाउने प्रवृत्ति स्वीकार्य छैन : वरिष्ठ नेता प्रधान

कार्यक्रममा बोल्दै राप्रपाका वरिष्ठ नेता तथा उपाध्यक्ष ध्रुवबहादुर प्रधानले पार्टीभित्रको दुविधा, अनुशासनहीनता र नेतृत्वविरुद्धको अनावश्यक विरोध अन्त्य गरी एकताबद्ध हुनुपर्ने बताए।

पार्टी एक सिटबाट बढेर १४ सिटसम्म पुगी राष्ट्रिय दल बन्न सफल भएको उल्लेख गर्दै नेता प्रधानले अध्यक्ष लिङ्देनको सबल नेतृत्वले पार्टीलाई उच्च राजनीतिक पहिचान र सम्मान दिलाएको बताए। पार्टीलाई कमजोर बनाउने गतिविधि र नेतृत्वविरुद्ध भ्रम फैलाउने प्रवृत्ति कुनै पनि हालतमा स्वीकार्य नहुने उनको चेतावनी थियो।

महाधिवेशनको सन्दर्भमा बोल्दै नेता प्रधानले पार्टीको स्थापित विधि र विधानअनुसार सबैलाई निष्पक्ष प्रतिस्पर्धा गर्न आग्रह गरे। महाधिवेशन प्रतिनिधि भएकाहरूले निर्वाचन प्रक्रियामा सहभागी हुन पाउने अधिकार भए पनि परिधिबाहिर गएर पार्टीलाई कमजोर बनाउने वा फुटाउने गतिविधि गर्न नहुने उनले बताए। “नेतृत्वलाई अनावश्यक गालीगलौज गरेर भ्रम सिर्जना गर्नुअघि ऐनामा आफ्नै अनुहार हेर्नुपर्छ,” उनले भने।

पाँच वर्षसम्म जनता र जिल्लाको सम्पर्कमा नग जाने तर नेतृत्वको मात्र आलोचना गर्ने प्रवृत्तिले कहिल्यै संगठन बलियो नहुने उनको टिप्पणी थियो। लुम्बिनी प्रदेशमा विगतमा पार्टीले राम्रो चुनावी परिणाम हासिल गरेको स्मरण गराउँदै उनले एकता, अनुशासन र उच्च प्रतिबद्धताका साथ अघि बढेमा पार्टीका एजेन्डा सहजै स्थापित गर्न सकिने बताए।

कार्यक्रमको अन्त्यमा नवनिर्वाचित लुम्बिनी प्रदेश कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले शपथ ग्रहण गरेका थिए। उनीहरूलाई पार्टीकी नवनिर्वाचित अध्यक्ष मेनुका खाँण क्षेत्रीले शपथ गराएकी थिइन्।