काठमाडौं। मलेसियामा वैदेशिक रोजगारीका लागि नेपाली कामदार पठाउने क्रममा अवैध रूपमा रकम सङ्कलन गरी उक्त रकम मलेसिया पठाएको आरोपमा पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका तत्कालीन सचिवसमेत रहनुभएका अर्याललाई प्रहरीले मोरङस्थित नेपाल–भारत सीमा क्षेत्रबाट नियन्त्रणमा लिएको हो।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक अनुपमशमशेर जबराले अर्याल पक्राउ परेको पुष्टि गर्दै उनीमाथि थप अनुसन्धान भइरहेको जानकारी दिए। मलेसिया रोजगारी प्रक्रियामा अवैध रकम संकलन तथा कारोबार भएको घटनामा प्रहरीले उच्च पदस्थ अधिकारीहरूसहित अन्य व्यक्तिमाथि अनुसन्धानलाई तीव्रता दिइरहेको छ।
यसै प्रकरणमा सीआईबीले यसअघि पनि विभिन्न तहका पूर्वपदाधिकारी तथा व्यक्तिलाई पक्राउ गरिसकेको छ। तीमध्ये तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वरराय यादव, मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुखद्वय उमेश ढुङ्गाना र राजीव पोखरेल तथा तत्कालीन कानुन अधिकृत निर्मला गुरुङ रहेका छन्।
यसका अतिरिक्त कागेश्वरी मनोहराका ४२ वर्षीय कैलाश खड्का, भक्तपुरको चाँगुनारायणका ४० वर्षीय रवीन्द्र केसी, गोरखाका ४२ वर्षीय प्रवीण तिवारी र सर्लाहीका ४५ वर्षीय रामपुकार तिवारी पनि यसअघि नै पक्राउ परिसकेको सीआईबीका प्रवक्ता जबराले बताए। पक्राउ परेका सबैको संलग्नता र आर्थिक कारोबारका विभिन्न पाटोमाथि प्रहरीले विस्तृत अनुसन्धान जारी राखेको छ।