राष्ट्रिय ऊर्जा नीति निर्माणका लागि उच्चस्तरीय समिति गठन, २१ दिनभित्र मस्यौदा तयार हुने

राष्ट्रिय ऊर्जा नीति निर्माणका लागि उच्चस्तरीय समिति गठन, २१ दिनभित्र मस्यौदा तयार हुने

काठमाडौं। मुलुकको ऊर्जा क्षेत्रको भावी दिशा र प्राथमिकता निर्धारण गर्ने उद्देश्यसहित सरकारले ‘राष्ट्रिय ऊर्जा नीति’ निर्माणको प्रक्रिया अघि बढाएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले बिहीबार मन्त्रिस्तरीय निर्णय गर्दै नीति तर्जुमाका लागि उच्चस्तरीय समिति गठन गरेका हुन्।

जल तथा ऊर्जा आयोगका सचिवको संयोजकत्वमा गठित उक्त समितिमा ऊर्जा क्षेत्रसँग सम्बन्धित विभिन्न संस्थाका प्रतिनिधि तथा विज्ञहरूलाई समेटिएको छ। समितिलाई २१ दिनभित्र राष्ट्रिय ऊर्जा नीतिको अवधारणासहितको मस्यौदा तयार पारी सरकारसमक्ष पेस गर्ने कार्यादेश (टिओआर) दिइएको छ।

मन्त्रालयका अनुसार समितिले मुलुकको ऊर्जा क्षेत्रको वर्तमान अवस्था, भावी आवश्यकता र सम्भावनाहरूको सूक्ष्म अध्ययन गरी आगामी दिनमा अवलम्बन गर्नुपर्ने स्पष्ट नीतिगत दिशा तय गर्नेछ।

नयाँ बन्ने राष्ट्रिय ऊर्जा नीतिले ऊर्जा उत्पादन, प्रसारण, वितरण, आन्तरिक खपत तथा अन्तरदेशीय व्यापारलाई एकीकृत दृष्टिकोणबाट अघि बढाउन मार्गप्रशस्त गर्नेछ। यसैमार्फत दीर्घकालीन ऊर्जा विकासका लागि बलियो र स्पष्ट नीतिगत आधार तयार गर्ने सरकारको लक्ष्य रहेको छ।