काठमाडौं। नेपाली कांग्रेसभित्र पूर्वसभापति शेरबहादुर देउवा र वर्तमान सभापति गगनकुमार थापाबीचको राजनीतिक दूरी र शक्ति संघर्ष उत्कर्षमा पुगेको छ। पार्टीको नेतृत्व, आधिकारिकता र संगठनमाथिको नियन्त्रणलाई लिएर दुई पक्षबीच चर्किएको विवाद अब एकअर्कालाई खुल्ला चुनौती दिने तहमा प्रवेश गरेको हो।
एकातिर देउवा पक्षले आगामी मङ्सिर २१ देखि २३ गतेसम्म काठमाडौँमा छुट्टै १५औँ महाधिवेशन गर्ने तयारी तीव्र पारेको छ भने अर्कोतिर सभापति थापाले पार्टी विधानविपरीत समानान्तर गतिविधि गर्ने नेता तथा जनप्रतिनिधिमाथि कडा कारबाही गर्ने चेतावनी दिएका छन्।
यसैबीच, बुधबार निर्वाचन आयोगले गगन थापा नेतृत्वको २३१ सदस्यीय केन्द्रीय कार्यसमिति र संशोधित विधानलाई आधिकारिक रूपमा दल दर्ता अभिलेखमा अद्यावधिक गरेको छ। गत असोज १८ देखि २३ गतेसम्म सम्पन्न १५औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई आयोगले मान्यता दिएपछि गगन पक्षलाई संस्थागत र कानुनी रूपमा बल पुगेको छ। महामन्त्री प्रदीप पौडेल नेतृत्वको टोलीले कात्तिक १६ गते बुझाएको दस्तावेजका आधारमा आयोगले यो निर्णय लिएको हो।
देउवाको अडान: ‘कसैले कांग्रेस कब्जा गर्न सक्दैन’
पार्टीभित्रको विवाद चर्किरहँदा पूर्वसभापति देउवाले आफूहरू नै कांग्रेसको वास्तविक विरासत बोकेको पक्ष भएको दाबी गर्दै आएका छन्। गत कात्तिक २८ गते ललितपुरमा आफ्नो समूहको समानान्तर जिल्ला अधिवेशन उद्घाटन गर्दै उनले आफूलाई जानकारी नै नदिई विशेष महाधिवेशन गरिएको आरोप लगाएका थिए।
“मलाई अब आफ्नो लागि केही चाहिएको छैन, तर जीवन रहेसम्म लोकतन्त्रका लागि लड्ने मेरो कर्तव्य छ,” देउवाले भनेका थिए, “पाँच पटक प्रधानमन्त्री बनाएको पार्टीप्रति मेरो जीवनभरको जिम्मेवारी छ। वर्षौंको त्याग र संघर्षबाट बनेको जनताको पार्टी कसैले कब्जा गर्न सक्दैन।” देउवा पक्षले वडादेखि प्रदेश तहसम्मका समानान्तर अधिवेशन अघि बढाउँदै मङ्सिर तेस्रो साता काठमाडौँमा महाधिवेशन गर्ने अडान कायम राखेको छ।
गगनको जवाफ: मर्यादा कायम राख्न आग्रह र कारबाहीको चेतावनी
देउवाको अभिव्यक्ति र समानान्तर गतिविधिप्रति सभापति थापा आक्रामक देखिएका छन्। मङ्गलबारदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा उनले देउवाको नामै लिएर आफ्नो राजनीतिक उचाइ र प्रतिष्ठाअनुसार प्रस्तुत हुन आग्रह गरे। “पाँच पटक प्रधानमन्त्री र दुई पटक सभापति भइसकेको नेता अग्लो ठाउँमा बस्नुहोस्, तल नझर्नुहोस् भन्ने मेरो आग्रह हो,” थापाले बैठकमा भने।
असन्तुष्ट नेताहरूलाई संवादमार्फत समेट्ने ढोका खुला रहेको बताए पनि समानान्तर संरचनामा लाग्नेहरूलाई भने उनले कडा चेतावनी दिएका छन्। विशेषगरी कांग्रेसको चुनाव चिह्नबाट निर्वाचित राष्ट्रिय सभा, प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका जनप्रतिनिधिलाई लक्षित गर्दै उनले अर्को राजनीतिक बाटो रोज्ने भए तत्काल पदबाट राजीनामा दिन आग्रह गरेका छन्। “कांग्रेसको टिकटमा चुनाव जितेर अर्को पार्टीको गतिविधिमा लाग्नेलाई विधानबमोजिम कारबाही हुन्छ,” थापाले स्पष्ट पारे।
यसैगरी, बुधबारको बैठकमा केन्द्रीय सदस्य बलदेव तिमिल्सिनाले पनि समानान्तर महाधिवेशनमा सहभागी जनप्रतिनिधिहरूको छानबिन गरी तत्काल पदमुक्त गर्न निर्वाचन आयोगमा लेखी पठाउन माग गरेका छन्।
वारपारको मोडमा कांग्रेस विवाद
निर्वाचन आयोगको अद्यावधिक निर्णयपछि देउवा पक्षमाथि संगठनात्मक दबाब थपिए पनि उक्त समूह पछि हट्ने मनस्थितिमा देखिएको छैन। देउवा पक्षका नेता एनपी साउदले आयोगको निर्णयले आफूहरूको महाधिवेशनलाई कुनै असर नगर्ने दाबी गर्दै ‘नेपाली कांग्रेस’ कै नाममा महाधिवेशन सम्पन्न गरिने बताएका छन्।
आयोगको निर्णयले गगन पक्षलाई वैधानिकता दिएपछि अब देउवा पक्षले मङ्सिर २१ गतेको महाधिवेशन कसरी अघि बढाउँछ र गगन नेतृत्वले कस्तो संस्थागत कदम चाल्छ भन्ने विषयले नेपाली राजनीतिमा चासो बढाएको छ। यो शक्ति संघर्षले अन्ततः कांग्रेसलाई सहमतिमा ल्याउँछ वा औपचारिक विभाजनको बाटोमा लैजान्छ भन्ने निर्णायक घडी नजिकिएको छ।