किसानको चिन्ता सम्बोधन गर्न कांग्रेसको माग : उखुको मूल्य तत्काल तोकियोस्, वक्यौता नरोकियोस्

किसानको चिन्ता सम्बोधन गर्न कांग्रेसको माग : उखुको मूल्य तत्काल तोकियोस्, वक्यौता नरोकियोस्

ललितपुर। नेपाली कांग्रेसले उखुको मूल्य तत्काल निर्धारण गर्न र किसानहरूले पाउन बाँकी रहेको वक्यौता अविलम्ब भुक्तानी गराउन सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ।

पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवनमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले उखु किसानका समस्याप्रति सरकारले देखाएको उदासिनतालाई गम्भीरतापूर्वक लिएको हो।

बजारमा उखु पठाउने समय नजिकिँदै गर्दा मूल्य निर्धारण नभएपछि किसानमा चिन्ता छाएको छ। यस सन्दर्भमा, कांग्रेसले उखुको उत्पादन लागत र चिनीको बजार मूल्यलाई आधार बनाएर वैज्ञानिक मूल्य निर्धारण गर्नुपर्ने पार्टीको मान्यता रहेको जनाएको छ। बैठकले किसानको भुक्तानी नपाउने समस्याको दीर्घकालीन समाधानका लागि समेत जोडदार माग गरेको छ।

मंगबारदेखि जारी रहेको केन्द्रीय कार्यसमितिको बैठकमा आजसम्म ४९ जना केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखेका छन्। धारणा राख्ने क्रम जारी नै रहेकोले बैठक बिहीबार बिहान ११ बजे पुनः बस्ने पार्टीका का.वा. मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।