काठमाडौं । उद्योग तथा व्यवसाय सञ्चालनका क्रममा निजी क्षेत्रले लामो समयदेखि भोग्दै आएका कानुनी जटिलता, प्रशासनिक झन्झट र नियामकीय अवरोध हटाउने उद्देश्यसहित सरकारले ६४ वटा कानुन एकैपटक संशोधन गर्ने प्रस्ताव अघि सारेको छ।
'लगानी तथा पूर्वाधारसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३' को मस्यौदामार्फत लगानी स्वीकृति, उद्योग स्थापना तथा विस्तार, कर प्रशासन, बैंकिङ, पुँजी बजार, सार्वजनिक खरिद, पूर्वाधार निर्माण, विदेशी विनिमय र जग्गा व्यवस्थापन लगायतका क्षेत्रमा विद्यमान कानुनी व्यवस्था परिमार्जन गर्न खोजिएको हो।
प्रस्तावित अध्यादेशको सबैभन्दा महत्त्वपूर्ण पक्ष उद्योग व्यवसायको नियमित सञ्चालनमा पूर्वस्वीकृति लिनुपर्ने व्यवस्थाको दायरा घटाउनु रहेको छ। औद्योगिक व्यवसाय ऐनको दफा १२ संशोधन गरी उद्योगले आफ्नो विद्यमान पुँजी वा उत्पादन क्षमता वृद्धि गर्दा, उद्देश्य थप गर्दा वा परिवर्तन गर्दा पूर्वस्वीकृति लिनुपर्ने प्रावधान हटाई ३० दिनभित्र सम्बन्धित निकायलाई जानकारी दिए पुग्ने व्यवस्था प्रस्ताव गरिएको छ।
यसैगरी, लगानीकर्ताले सरकारी निकाय धाउनुपर्ने बाध्यता अन्त्य गर्न एकीकृत विद्युतीय लगानी सहजीकरण प्रणाली स्थापना गर्ने प्रस्ताव गरिएको छ, जसबाट आवेदन दिनेदेखि स्वीकृतिपत्र प्राप्त गर्नेसम्मका काम अनलाइनबाटै गर्न सकिनेछ।
वित्तीय स्रोतका विकल्पहरू विस्तार गर्दै स्वीकृत विदेशी ऋणको भुक्तानी हुन बाँकी साँवा तथा ब्याजलाई सेयर पुँजीमा रूपान्तरण गर्न सकिने व्यवस्था पनि मस्यौदामा समेटिएको छ। यसले कम्पनीहरूलाई नगद प्रवाह व्यवस्थापनमा राहत पुर्याउने अपेक्षा गरिएको छ।
साथै, स्टार्टअप र निजी पुँजी लगानी (भेन्चर क्यापिटल, प्राइभेट इक्विटी) लाई प्रोत्साहन गर्ने, सार्वजनिक निजी साझेदारी (पिपिपी) मोडेलमार्फत सहरी विकास तथा पूर्वाधार निर्माणमा निजी क्षेत्रको भूमिका फराकिलो बनाउने तथा स्विस च्यालेन्ज विधि अपनाउने प्रस्ताव गरिएको छ। विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन संशोधन गरी आन्तरिक कुरियर सेवा र निश्चित सर्तसहित सहरी पुनर्विकास तथा बस्ती विकास आयोजनामा समेत विदेशी लगानी खुलाउने प्रस्ताव गरिएको छ।