दानबहादुरको रिट नृपध्वज निरौला र श्रीकान्त पौडेलको इजलासमा

दानबहादुरको रिट नृपध्वज निरौला र श्रीकान्त पौडेलको इजलासमा

काठमाडौँ । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको रिटमा आज सुनुवाइ हुने भएको छ । कार्कीको पेशी नृपध्वज निरौला र श्रीकान्त पौडेलको इजलाशमा परेको छ ।

सरकारले कात्तिक १८ गते मन्त्रिपरिषद् बैठकमार्फत दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा गर्दै एआईजी डा. मनोजकुमार केसीलाई आईजीपीमा बढुवा गरेको थियो । सरकारले गैरकानुनी रूपमा आफूलाई पदमुक्त गरेको दाबी गर्दै कार्कीले निर्णय बदर गरी आईजीपीमा पुनर्बहालीको मागसहित कात्तिक २० गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

यसअघि मंसिर २ गते न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश नदिई दुवै पक्षलाई छलफलका लागि सोमबार (मंसिर ७) बोलाएको थियो। सर्वोच्च अदालतले मंसिर ४ गते आईजीपी डा. केसीका नाममा म्याद जारी गरेको थियो । अदालतको आदेशमा उल्लेख भएअनुसार म्याद बुझाउन अदालतका तामेलदार प्रहरी प्रधान कार्यालय पुग्दा कार्यालयका कर्मचारीले ‘सम्बन्धित व्यक्ति (आईजीपी) मिटिङमा जानुभएको छ, फर्केर आउनुहुन्छ’ भनी कार्यालय समयसम्म पर्खाएका थिए ।

तर, कार्यालय समय सकिँदासम्म पनि आईजीपी केसी उपस्थित नभएको र कार्यालयले समेत म्याद बुझ्न इन्कार गरेपछि तामेलदारले म्याद तामेल हुन नसकेको प्रतिवेदन अदालतमा पेस गरेका थिए।

सोमबारको सुनुवाइका क्रममा विपक्षी प्रहरी प्रधान कार्यालयका तर्फबाट उपस्थित अधिवक्ताले म्याद ’प्राविधिक कारणले बुझ्न नसकिएको’ भन्दै पुनः म्याद जारी भए फिर्ता नहुने प्रतिबद्धतासहित इजलाससमक्ष अनुरोध गरेका थिए । सोही अनुरोधबमोजिम इजलासले प्रहरी प्रधान कार्यालयलाई प्रतिनिधित्व गर्ने अधिवक्तामार्फत नै मंसिर ४ गतेको म्याद बुझाई नियमानुसार पेस गर्न आदेश दिएको हो।

इजलासले पेसीमा प्राथमिकता दिई पालो समेत आउने गरी आगामी मंसिर ९ गते बुधबार लागि अर्को पेसी तोक्न र सोको जानकारी महान्यायाधिवक्ताको कार्यालय समेतलाई दिन आदेश दिएको थियो।