काठमाडौँ । सर्वोच्च अदालतले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाउने सरकारको निर्णयविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। सर्वोच्चको यो आदेशसँगै नवनियुक्त आईजीपी डा. मनोजकुमार केसीलाई प्रहरी नेतृत्वमा काम गर्न बाटो खुलेको छ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासले बुधबार दुवै पक्षको बहस सुनेपछि कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी नहुने आदेश गरेको हो। इजलासले उक्त विवादको निरूपण मुद्दाको अन्तिम सुनुवाइकै बखत हुने ठहर गरेको छ।
गत कात्तिक १८ गते बसेको मन्त्रिपरिषद् बैठकले तत्कालीन आईजीपी कार्कीलाई जिम्मेवारीबाट हटाउँदै प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा गर्ने निर्णय गरेको थियो। सोही बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोजकुमार केसीलाई नेपाल प्रहरीको महानिरीक्षकमा नियुक्त गरेको थियो।
सरकारको उक्त निर्णय प्रहरी ऐन तथा नियमावलीविपरीत रहेको र आफूलाई गैरकानुनी रूपमा पदबाट हटाइएको दाबी गर्दै कार्कीले सर्वोच्च अदालतमा उत्प्रेषण परमादेशको रिट दायर गरेका थिए।
उक्त रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै यसअघि न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले विपक्षीहरूका नाममा कारण देखाऊ आदेश जारी गर्नुका साथै अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाएको थियो। त्यसक्रममा नवनियुक्त आईजीपी डा. केसीले अदालतको म्याद बुझेको प्रमाण पेस नभएको भन्दै मंसिर ७ गतेको सुनुवाइ स्थगित भई बुधबार (मंसिर ९ गते) का लागि पेसी तोकिएको थियो। बुधबारको सुनुवाइपछि सर्वोच्चले अन्तरिम आदेश अस्वीकार गरेसँगै कार्कीको तत्काल आईजीपी पदमा फर्कने बाटो बन्द भएको छ।