काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बलदेव तिमल्सिनाले पूर्वसभापति शेरबहादुर देउवा समूहलाई कारबाही गर्न माग गरेका छन्।
सानेपामा जारी केन्द्रीय समिति बैठकमा बोल्दै पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूको तथ्यगत छानबिन गरी विधानबमोजिम तत्काल अनुशासनको कारबाही गर्न माग गरेका हुन्। पार्टीको टिकट, झन्डा र कार्यकर्ताको पसिनाबाट निर्वाचित कतिपय जनप्रतिनिधिहरू पार्टीको वैधानिक महाधिवेशन र विधि,प्रक्रियागत गतिविधिमा सहभागी नभई आज पार्टीको नीति र हित विपरीतका गतिविधिमा संलग्न भएको उल्लेख गरेका छन्।
उनले बैठकमा भनेका छन्, ‘पदमा पुगेपछि अनुशासन उल्लङ्घन गर्ने प्रवृत्तिको अन्त्य गर्न यस्ता जनप्रतिनिधिहरूको तथ्यगत छानबिन गरी विधानबमोजिम तत्काल अनुशासनको कारबाही गर्न र निर्वाचन आयोग मार्फत पदमुक्त गर्न म जोडदार माग गर्दछु।’
गत प्रतिनिधि सभा निर्वाचनमा रुख चिन्हमा मतदान नगर्ने र नगर्न लगाउनेहरूद्वारा नै अहिले रुख चिन्ह आफैलाई चाहियो भन्दै मच्चाइएको कोहोलो विडम्बना पूर्ण भएको टिप्पणी गरे।
बैठकमा उनले भने, ‘नेपाली कांग्रेसको ऐतिहासिक नाम, चारतारे झन्डा र चुनाव चिह्न रुखको अनधिकृत रूपमा अनधिकृत समूहबाट भइरहेको दुरुपयोग अत्यन्तै गम्भीर छ। यसले मतदाता र कार्यकर्तामा भ्रम सिर्जना गरेको छ।’पार्टीको वैधानिक पहिचान र विधानको रक्षा गर्न निर्वाचन आयोगमार्फत अविलम्ब कानुनी तथा राजनीतिक पहलकदमी लिई यस्ता अनधिकृत गतिविधिलाई तत्काल रोक्न माग गरेका छन्।