प्रधानमन्त्री शाहको भारत भ्रमण सामान्य र नियमित: प्रचण्ड

प्रधानमन्त्री शाहको भारत भ्रमण सामान्य र नियमित:  प्रचण्ड

काठमाडौ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बालेन्द्र शाहको हालै सम्पन्न भारत भ्रमणलाई ऐतिहासिक उपलब्धिका रूपमा नभई एउटा सामान्य र नियमित प्रक्रियाका रूपमा लिनुपर्ने बताएका छन्।

बिहीबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले भ्रमणलाई अनावश्यक रूपमा अतिरञ्जित गर्न नहुने धारणा राखे। ‘प्रधानमन्त्री भारत जानुपर्थ्यो, जानुभयो। मोदीजीसँग राम्रै अङ्कमाल गरेर आउनुभएको छ, त्यसलाई सकारात्मक रूपमै हेर्नुपर्छ,’ प्रचण्डले भने, ‘तर, यसलाई एउटा विशिष्टता जस्तो, कोही कोहीले भन्न खोजेका छन्– उत्पात भयो, इतिहास बन्यो, यो सही होइन।’

प्रचण्डले आफू प्रधानमन्त्री हुँदा भएको औपचारिक भारत भ्रमणका क्रममा उठाइएका महत्त्वपूर्ण विषयहरूमा समेत अहिलेको भ्रमणले उल्लेखनीय प्रगति गर्न नसकेको दाबी गरे। विशेषगरी हवाई रुट, विद्युत् व्यापार र सीमा समस्याका विषयमा पहिले नै गम्भीर छलफल र प्रतिबद्धता भइसकेको उनको भनाइ छ।

आफ्नो भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र आफूले सीमा समस्या छिट्टै समाधान गर्ने सार्वजनिक प्रतिबद्धता जनाएको स्मरण गर्दै प्रचण्डले अहिलेको भ्रमणमा त्यस्तो स्तरको ठोस छलफल र उपलब्धि नदेखिएको बताए। भैरहवासहित नेपालगञ्ज र धनगढीका हवाई रुटसम्बन्धी विषय पनि पहिले नै उठिसकेको उल्लेख गर्दै उनले अहिलेको भ्रमण सैद्धान्तिक सहमतिभन्दा माथि उठ्न नसकेको स्पष्ट पारे।