संसद्को हिउँदे अधिवेशन कहिले ? मङ्सिरको अन्त्यमा बोलाउने तयारीमा सरकार र सभामुख

संसद्को हिउँदे अधिवेशन कहिले ? मङ्सिरको अन्त्यमा बोलाउने तयारीमा सरकार र सभामुख

काठमाडौं। विपक्षी दलहरूको लगातारको दबाबपछि सङ्घीय संसद्को हिउँदे अधिवेशन बोलाउने तयारी सुरु भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहितका विपक्षी दलहरूले राष्ट्रिय हित, जनजीविका, लोकतन्त्र, संविधान र विपत्पछिको राहत तथा पुनर्निर्माणलगायतका विषयमा छलफल गर्नुपर्ने माग गर्दै संसद् अधिवेशन तत्काल आह्वान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । विशेषगरी प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भएका सहमति र सम्झौताबारे संसद्मा बहस गर्नुपर्ने भन्दै विपक्षीहरूले दबाब बढाएपछि सभामुखले अधिवेशनको गृहकार्य थालेका हुन् ।

सङ्घीय संसद्का विभिन्न विषयगत समितिहरूलाई सक्रिय बनाउन र सरकारका कामकारबाहीमाथि निगरानी बढाउन भन्दै यसअघि कांग्रेस, राप्रपा र नेकपाका सांसदहरूले समेत राज्य व्यवस्था तथा सुशासन समिति र सार्वजनिक लेखा समितिको बैठक माग गर्दै लिखित निवेदन दर्ता गराएका थिए ।

तर, राज्य व्यवस्था समितिमा एक चौथाइभन्दा बढी सदस्यले निवेदन दिए पनि सभापति हरि ढकालसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू लामो समय चीन भ्रमणमा रहेका कारण प्रक्रिया अघि बढ्न सकेको थिएन । रास्वपाको प्रतिनिधिमण्डल चीन भ्रमण सकेर बिहीबार मात्र स्वदेश फर्किएको छ ।

सङ्घीय संसद्को हिउँदे अधिवेशन आह्वान गर्ने विषयमा छलफल भइरहेको सभामुख डोलप्रसाद (डिपी) अर्यालले बताएका छन् । नेकपा एमाले संसदीय दलका उपनेता पद्माकुमारी अर्याल र प्रमुख सचेतक ऐन महरबीच भएको भेटवार्तामा सभामुख अर्यालले मङ्सिर महिनाको अन्तिम हप्तामा हिउँदे अधिवेशन बोलाउने तयारी भइरहेको जानकारी दिएको प्रमुख सचेतक महरले बताए । यसअघि गएको असोज १६ गते सङ्घीय संसद्को बजेट अधिवेशन अन्त्य भएको थियो ।

संसद् अधिवेशन नभएको यस अवधिमा दुवै सदनमा गरी कुल ३६ वटा विधेयक विचाराधीन अवस्थामा रहेका छन् । प्रतिनिधिसभाका विभिन्न समितिमा २४ वटा विधेयक छन् भने सदनमा र अन्य प्रक्रियामा समेत थप विधेयकहरू रहेका छन् । अधिवेशन अन्त्य भएपछि मात्रै नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक र नवीकरणीय ऊर्जासम्बन्धी विधेयकलगायत थप छ वटा नयाँ विधेयक दर्ता भएको संसद् सचिवालयले जनाएको छ ।