अधिवक्ता उद्धव केसीको ल फर्मबाट सेवाग्राही महिला पक्राउ: कानुन व्यवसायीको पेसागत अधिकारमाथि हस्तक्षेप भएको भन्दै आपत्ति

अधिवक्ता उद्धव केसीको ल फर्मबाट सेवाग्राही महिला पक्राउ: कानुन व्यवसायीको पेसागत अधिकारमाथि हस्तक्षेप भएको भन्दै आपत्ति

काठमाडौं। कानुनी परामर्श र मुद्दासम्बन्धी छलफलका लागि ल फर्म पुगेकी एक महिलालाई प्रहरीले कार्यालयबाटै पक्राउ गरेको घटनाप्रति कानुन व्यवसायीहरूले चर्को असन्तुष्टि व्यक्त गरेका छन्।

बुधबार डिल्लीबजारस्थित 'जनचेतना ल फर्म' बाट हस्तमाया बस्नेतलाई पक्राउ गरिएको घटनाले कानुनको उपहास भएको भन्दै ल फर्मले नेपाल बार एसोसियसनको ध्यानाकर्षण गराएको छ।

ल फर्मका सञ्चालक तथा अधिवक्ता उद्धव केसीका अनुसार सेवाग्राहीलाई ल फर्मभित्रैबाट धम्की दिएर र धरपकड गरी पक्राउ गरिएको हो। यसरी कानुन व्यवसायीकै कार्यालयबाट सेवाग्राहीलाई पक्राउ गरिनु अत्यन्त निन्दनीय रहेको उनको भनाइ छ।

अधिवक्ता केसीले यस प्रकारका घटनाले कानुन व्यवसायीहरूले आफ्ना सेवाग्राहीको प्रतिनिधित्व तथा प्रतिरक्षा गर्ने क्रममा निर्वाध रूपमा पेसागत जिम्मेवारी निर्वाह गर्न पाउने संवैधानिक अधिकारमाथि समेत प्रत्यक्ष हस्तक्षेप भएको बताएका छन्।

कानुनी परामर्श लिइरहेको अवस्थामा कार्यालयभित्रैबाट सेवाग्राही पक्राउ परेपछि यस विषयले कानुन व्यवसायी र बार एसोसियसनको ध्यानाकर्षण गराएको छ भने यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन माग गरिएको छ।