नवलपुर। नवलपुरको मध्यबिन्दु–१० स्थित अरुण खोला क्षेत्रमा जन्ती बोकेको बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। कावासोती–१६ डण्डाबाट दुम्कीबासतर्फ जन्ती लिएर जाँदै गरेको उक्त बोलेरो जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
अरुण खोला प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक भीमबहादुर थापाका अनुसार दुर्घटनामा परी विनयी त्रिवेणी–४ का ३० वर्षीय चुरेन्द्र चौधरीको मृत्यु भएको छ।
घाइतेमध्ये नौ जनाको मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भइरहेको छ भने गम्भीर घाइते भएका दुई जनालाई थप उपचारका लागि भरतपुर रिफर गरिएको प्रहरीले जानकारी दिएको छ। घाइतेहरूको नाम भने खुल्न बाँकी रहेको छ।
प्रहरीले घटनाका सम्बन्धमा थप विवरण सङ्कलन गरिरहेको जनाएको छ र विस्तृत विवरण आउन बाँकी छ।