देशभर उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन, तराईमा हुस्सु र पहाडमा आंशिक बदली

देशभर उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन, तराईमा हुस्सु र पहाडमा आंशिक बदली

काठमाडौं। हाल देशभर कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल बाँके, दाङलगायत तराईका अधिकांश भू-भागमा हुस्सु तथा तुवाँलो लागेको छ भने देशका बाँकी स्थानको मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहने पूर्वानुमान छ। देशका अन्य भागमा भने मौसम मुख्यतया सफा रहनेछ। यस्तै, आज राति कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सफा रहने महाशाखाले उल्लेख गरेको छ।

भोलि बिहान काठमाडौँ उपत्यका र विभिन्न खोँचहरूका साथै तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।