काठमाडौं । नेपाली कांग्रेसले वैकल्पिक आवासको व्यवस्था नगरी होल्डिङ सेन्टरबाट समेत सुकुम्बासीलाई हटाउने सरकारको निर्णय तत्काल फिर्ता लिन माग गरेको छ ।
सभापति गगन थापाको सभापतित्वमा पार्टी केन्द्रीय कार्यालय ललितपुरमा बसेको केन्द्रीय कार्यसमिति बैठकले सरकारको निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै विस्थापित परिवारको सुरक्षित, सम्मानजनक र दिगो पुनर्वास सुनिश्चित गर्न माग गरेको हो ।
बैठकपछि जारी प्रेस विज्ञप्तिमा सरकारले सुकुम्बासीका घर भत्काएर व्यवस्थापन तथा लालपुर्जाको आश्वासन दिएको तर महिनौँसम्म अनिश्चिततामा राखेर अहिले अस्थायी आश्रयबाट समेत हटाउन खोजेको उल्लेख गरिएको छ ।
कांग्रेसले सरकारको उक्त निर्णय संविधानप्रदत्त आवासको हक, प्रचलित कानुन र सामाजिक न्यायको मर्मविपरीत रहेको ठहर गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘राज्य नागरिकको अभिभावक हो । घरबारविहीन नागरिकलाई आश्रय दिनु राज्यको दायित्व हो, उनीहरूको बाँकी रहेको आश्रयसमेत खोस्नु होइन।’
भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्या दमन र विस्थापनबाट नभई न्यायपूर्ण, मानवीय र दीर्घकालीन समाधानबाट सम्बोधन गर्नुपर्ने कांग्रेसको धारणा छ। सुकुम्बासी समस्याको समाधान नागरिकलाई हटाएर नभई उनीहरूको समस्या हटाएर गर्नुपर्ने पार्टीले जनाएको छ ।
यसैबीच, होल्डिङ सेन्टरको समन्वय र सहजीकरणका लागि केन्द्रीय सदस्य केशव निरौलाको संयोजकत्वमा समिति गठन गरिएको छ । समितिमा केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ र प्रबल थापा सदस्य रहेका छन् ।
मंगलबारदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा आजसम्म ७० जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका छन् । धारणा राख्ने क्रम जारी रहेकाले बैठक आगामी शुक्रबार बिहान ८ः३० बजे पार्टी केन्द्रीय कार्यालयमा पुनः बस्ने विज्ञप्तिमा उल्लेख छ ।