विराटनगर । सप्तकोशी नदीमा भएको यात्रुवाहक पानीबोट दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन गठित छानबिन समितिले आफ्नो प्रतिवेदन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष बुझाएको छ ।
गत कात्तिक ५ गते धनकुटा, भोजपुर र उदयपुर जिल्लाको संगमस्थल त्रिवेणीमा बराह त्रिवेणी जलयातायात प्रालिद्वारा सञ्चालित यात्रुवाहक ओबीएम पानीबोट दुर्घटना भएको थियो । उक्त घटनाको वास्तविकता बाहिर ल्याउन कोशी प्रदेश सरकारको मन्त्रिपरिषद्ले कात्तिक १० गते प्रदेश सचिव आसमान तामाङको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।
समितिले दुर्घटनास्थलको स्थलगत अनुगमन, स्थानीय सरोकारवालाहरूसँगको छलफल तथा प्राप्त कागजात र प्रमाणहरूको सूक्ष्म अध्ययन एवं विश्लेषणका आधारमा प्रतिवेदन तयार पारेको जनाएको छ ।
मुख्यमन्त्रीसमक्ष पेश गरिएको प्रतिवेदनमा दुर्घटनाको विस्तृत घटनाक्रम र मुख्य कारण, पानीबोटको प्राविधिक तथा सञ्चालन अवस्था, नियमनकारी एवं सम्बन्धित निकायहरूको भूमिका र उद्धार तथा राहत व्यवस्थापनका पक्षहरूलाई समेटिएको छ । यसका साथै आगामी दिनमा जलयातायातलाई सुरक्षित बनाउन र यस्ता दुर्घटना दोहोरिन नदिन चाल्नुपर्ने नीतिगत, कानुनी तथा संस्थागत सुधारका सुझावसमेत प्रतिवेदनमा प्रस्तुत गरिएको छ ।
समितिले प्रतिवेदनमा औँल्याइएका निष्कर्ष तथा सुझावहरूको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक निर्णय र निर्देशन दिन प्रदेश सरकारसमक्ष अनुरोध गरेको छ ।