सुर्खेतमा रास्वपा सभापति लामिछानेको स्वागत: शनिबारदेखि दुईदिने प्रशिक्षण कार्यक्रम सुरु हुने

सुर्खेतमा रास्वपा सभापति लामिछानेको स्वागत: शनिबारदेखि दुईदिने प्रशिक्षण कार्यक्रम सुरु हुने

सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सुर्खेतमा पार्टीका नेता तथा कार्यकर्ताहरूले भव्य स्वागत गरेका छन्।

शुक्रबार दुईदिने विशेष पार्टी प्रशिक्षण कार्यक्रममा सहभागी हुन सुर्खेत पुग्नुभएका सभापति लामिछानेलाई विमानस्थलमा स्थानीय नेता तथा कार्यकर्ताहरूले स्वागत गरेका हुन्।

रास्वपाले आगामी शनिबार र आइतबार गरी दुई दिनसम्म वीरेन्द्रनगरमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। कर्णाली प्रदेशबाट औपचारिक रूपमा सुरु हुन लागेको यस प्रशिक्षण अभियानलाई पार्टीले आगामी दिनमा क्रमशः अन्य प्रदेशहरूमा समेत विस्तार गर्ने तयारी गरेको छ।

पार्टी संगठनलाई थप सुदृढ बनाउने तथा कार्यकर्ताहरूको वैचारिक एवं व्यावहारिक क्षमता अभिवृद्धि गर्ने प्रमुख उद्देश्यका साथ यो प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो।