काठमाडौँ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पूर्वसभापति शेरबहादुर देउवा समूहको १५ औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने भएका छन्।
मंसिर २१ देखि काठमाडौंमा हुने महाधिवेशनमा निधिले सभापतिमा उम्मेदवारी दिनेगरी आन्तरिक तयारी अघि बढाएका हुन्। आफूले सभापतिमा उम्मेदवारी दिनेबारे निधिले महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालालाई पनि जानकारी गराइसकेका छन्।
हिजो चुनदेवीस्थित सम्पर्क कार्यालयमा बसेको बैठकअघि कोइरालालाई निधिले भेटेका थिए। भेटमा आफूलाई सभापतिमा सहयोग गर्नको लागि आग्रह गरेको निधिनिकट एक नेताले बताए।
ती नेताले भने, ‘विमलेन्द्र दाइले मैले तपाईँलाई संयोजक बन्नको लागि समर्थन गरेँ, अब सभापतिमा मलाई सहयोग गर्नुस् भनेर शशांक दाइलाई हिजोको भेटमा भन्नुभएको हो।’
सहमति नभए प्रतिस्पर्धा गर्नेगरी निधिले तयारी थालेको ती नेताले दाबी गरे। ती नेताका अनुसार निधिले आफूलाई सहयोग गर्न आग्रह गर्दा कोइरालाले कुनै ठोस जवाफ फर्काएनन्। निधि १४औँ महाधिवेशनमा पनि सभापतिको उम्मेदवार बनेका थिए तर पछि देउवालाई सघाए।
देउवा समूहको महाधिवेशनमा शशांक, विमलेन्द्रसहित प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत र एनपी साउदको नाम सभापतिमा चर्चा छ। देउवाले सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने प्रयास गर्ने नेताहरू बताउँछन्। शशांकलाई संयोजक बनाएका देउवाले उनैलाई सभापति बनाउन चाहेको कतिपय नेताहरूको दाबी छ।
देउवाले कार्यवाहक सभापतिको जिम्मेवारी दिएका पूर्णबहादुर खड्का पार्टी विभाजनको पक्षमा नजाने भन्दै निष्क्रिय बनेका छन्। १४ औँ महाधिवेशनमा देउवासँग प्रतिस्पर्धा गरेका डा. शेखर कोइराला पनि देउवा समूहको महाधिवेशनपछि पार्टी एकता अभियान चलाउने तयारीमा छन्।
गगन थापासँग आधिकारिकता लडाइँ चलिरहेको बेलामा देउवा समूहले महाधिवेशनबाट नयाँ नेतृत्व ल्याउन लागेको हो।