कांग्रेस सहमहामन्त्री शाहीको आह्वान : ‘सबै जुटौँ, कोही नफुटौँ’

कांग्रेस सहमहामन्त्री शाहीको आह्वान : ‘सबै जुटौँ, कोही नफुटौँ’

काठमाडौं। नेपाली कांग्रेसका सहमहामन्त्री जीवनबहादुर शाहीले पार्टीभित्र देखिएको विवाद अन्त्य गर्दै एकताबद्ध भएर अघि बढ्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।

१५औँ महाधिवेशनबाट गगन थापा नेतृत्वको कांग्रेसलाई निर्वाचन आयोगले आधिकारिकता दिएर अभिलेख अद्यावधिक गरेपछि शाहीले पार्टीका सबै पक्षलाई एक ठाउँमा उभिन आह्वान गरेका हुन्।

निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले छुट्टै समानान्तर गतिविधि सञ्चालन गरिरहेका बेला शाहीले सबैलाई समेटेर अघि बढ्न कांग्रेस तयार रहेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले लेखेका छन्, ‘सबै मिलाएर लिन कांग्रेस तयार छ। सबै जुटौँ, कोही नफुटौँ।’

उनको यो अभिव्यक्ति देउवा पक्षका नेताहरूलाई समेत पार्टीको मूलधारमा समेटेर अघि बढ्नुपर्ने सन्देशका रूपमा हेरिएको छ।

शाही १४औँ महाधिवेशनमा देउवा समूहबाट सहमहामन्त्री पदमा प्रतिस्पर्धा गरेका नेता हुन्। उनी कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत हुन्।

सुकुमवासीलाई विस्थापित गर्ने निर्णयप्रति पनि आपत्ति

यसैबीच, सहमहामन्त्री शाहीले होल्डिङ सेन्टरमा रहेका सुकुमवासी नागरिकलाई हट्न दिइएको सरकारी सूचना तथा निर्देशनप्रति पनि आपत्ति जनाएका छन्।

उनले उचित वैकल्पिक आवासको व्यवस्था र दीर्घकालीन पुनर्स्थापनाको सुनिश्चितताबिना गरिब तथा भूमिहीन नागरिकलाई विस्थापित गर्नु न्यायोचित नहुने बताएका छन्।

सरकारको यस्तो कदमले गरिब तथा भूमिहीन नागरिकको आवासको अधिकार र राज्यको दायित्वमाथि गम्भीर प्रश्न खडा गरेको उनको भनाइ छ।

नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकारबाट वञ्चित गर्न नहुने उल्लेख गर्दै शाहीले विस्थापनअघि वैकल्पिक व्यवस्थाको सुनिश्चितता गर्नुपर्नेमा जोड दिएका छन्।

‘नागरिकलाई समस्याबाट मुक्त गराउनु राज्यको दायित्व हो,’ उनले भनेका छन्।