काठमाडौं। सरकारले नेवाः समुदायका ४० वटाभन्दा बढी थरलाई दलित समुदायको सूचीमा समावेश गरी नेपाल राजपत्रमा प्रकाशित गरेपछि नेवाः समुदाय तथा राजनीतिक वृत्तमा गम्भीर आपत्ति र असन्तुष्टि चुलिएको छ । नेवाः समुदायको सर्वोच्च धार्मिक आस्थाकी प्रतीक जीवित देवी ‘कुमारी माजु’ सँग सम्बन्धित थरसमेत उक्त सूचीमा समेटिएपछि आफ्नो मौलिक धर्म, संस्कृति र आस्थामाथि गम्भीर चोट पुगेको भन्दै स्थानीयवासीहरू आक्रोशित बनेका छन् ।
नेवाः समुदायभित्र ‘दलित’ भन्ने छुट्टै जातीय विभाजन वा विभेदको संरचना नरहेको सरोकारवालाहरूको भनाइ छ । परापूर्वकालदेखि नै नेवाः समाजका सबै थर र समुदायहरू आ–आफ्नो गुठीसँग आबद्ध भएर सामाजिक, सांस्कृतिक तथा धार्मिक गतिविधिमा समान र अभिन्न रूपले संलग्न रहँदै आएका छन् । यस्तो ऐतिहासिक र सांस्कृतिक यथार्थविपरीत सरकारले हचुवाको भरमा सूचीकरण गरेको भन्दै समुदायले तीव्र विरोध जनाएको छ ।
यसैबीच, नेपाल लोकतान्त्रिक नेवाः संघले एक विज्ञप्ति जारी गर्दै असोज ८ गते राजपत्रमा प्रकाशित गरिएको उक्त निर्णयप्रति गम्भीर खेद प्रकट गरेको छ । संघका अध्यक्ष नरेश कुमार ताम्रकारद्वारा जारी विज्ञप्तिमा समुदायसँग कुनै छलफल, सहमति र वैज्ञानिक अध्ययन बिना एकतर्फी रूपमा यस्तो संवेदनशील निर्णय गरिनु संविधानको मर्म, समावेशी लोकतन्त्र र सामाजिक न्यायको सिद्धान्तविपरीत भएको उल्लेख छ ।
नेवाः देय् दबू लगायतका छाता संस्थाहरूको पहल र दबाबपछि राष्ट्रिय दलित आयोगले मङ्सिर ९ गते उक्त सूचीकरणको कार्यान्वयन हाललाई स्थगित गर्न नेपाल सरकारसमक्ष सिफारिस गरेको थियो । तर, स्थगन मात्र पर्याप्त नभएको भन्दै नेपाल राजपत्र (भाग ५, खण्ड ७६, संख्या ३६) मा प्रकाशित उक्त विवरणलाई राजपत्रबाटै पूर्ण रूपमा खारेज गरिनुपर्ने माग स्थानीय स्तर र विभिन्न संघसंस्थाबाट जोडदार रूपमा उठिरहेको छ ।
यस विषयले अब राष्ट्रिय राजनीतिमा समेत औपचारिक प्रवेश पाएको छ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. अमिता प्रधान शाक्यले नेवाः समुदायका थरहरूलाई दलित सूचीमा राखिएको विषयलाई पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा गम्भीरतापूर्वक उठाउनुभएको छ । उहाँले यस संवेदनशील विषयलाई नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा औपचारिक प्रस्तावका रूपमा पेस गर्ने जानकारी दिएकी छन् ।
सरोकारवाला तथा स्थानीय अगुवाहरूले यस घटनाको गम्भीरतालाई राज्यले गहिराइपूर्वक बुझ्नुपर्नेमा जोड दिएका छन् । एकताबद्ध र गुठी प्रणालीमा आधारित नेवाः समाजमा कृत्रिम वर्गीकरण थोपर्दा सामाजिक सद्भाव बिथोलिने र यसले समग्र देशलाई नै अनावश्यक जातीय विभाजनतर्फ धकेल्न सक्ने जोखिम रहेको भन्दै सबै पक्ष सचेत र संवेदनशील हुनुपर्ने आवाज उठिरहेको छ ।