भारत भ्रमणका सहमति कार्यान्वयनको प्रक्रिया अघि बढ्यो, तर ईपीजी प्रतिवेदन बुझ्ने विषय अझै अनिश्चित

भारत भ्रमणका सहमति कार्यान्वयनको प्रक्रिया अघि बढ्यो, तर ईपीजी प्रतिवेदन बुझ्ने विषय अझै अनिश्चित

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको हालै सम्पन्न भारत भ्रमणका क्रममा भएका द्विपक्षीय सहमति तथा समझदारीहरू कार्यान्वयनको प्रक्रिया अघि बढाइएको परराष्ट्र मन्त्रालयले जनाएको छ। यद्यपि, वर्षौँदेखि थन्किएको नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन बुझ्ने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले त्यसका लागि समय दिने विषय भने अझै अनिश्चित देखिएको छ।

परराष्ट्र मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित पत्रकार ब्रिफिङमा बोल्दै प्रवक्ता एवं सहसचिव लोकबहादुर पौडेल क्षेत्रीले प्रधानमन्त्री शाहको दुईदिने राजकीय भ्रमणका क्रममा जारी ‘संयुक्त भिजन डकुमेन्ट’ लगायत विभिन्न समझदारीपत्र (एमओयू) र निर्णयहरूको कार्यान्वयनका लागि सरोकारवाला निकायहरूसँग समन्वय सुरु भइसकेको जानकारी दिए।

ब्रिफिङका क्रममा ईपीजी प्रतिवेदनको भविष्यबारे सोधिएको प्रश्नमा प्रवक्ता क्षेत्रीले भने, “ईपीजीका नेपाली पक्षका संयोजक डा. भेषबहादुर थापाले उमेरका कारणले उक्त प्रतिवेदन सुरक्षित राखिएको दराजको साँचो गत २०८३ जेठ २१ गते परराष्ट्र सचिवलाई हस्तान्तरण गरेका छन्। दुवै पक्षको पूर्वसहमतिअनुसार उक्त प्रतिवेदन सुरुमा भारतका प्रधानमन्त्री र त्यसपछि नेपालका प्रधानमन्त्रीसमक्ष पेश गर्ने कार्यतालिका रहेको विषय सर्वविदितै छ। ईपीजी प्रतिवेदन दुवै प्रधानमन्त्रीज्यूसमक्ष पेश गर्न उपयुक्त समय प्राप्त हुनेछ भन्नेमा हामी विश्वस्त छौँ।”

मन्त्रालयले प्रतिवेदन बुझ्ने समय मिल्ने विश्वास व्यक्त गरे पनि भारतीय प्रधानमन्त्री मोदीले समय दिने विषयमा ठोस कूटनीतिक प्रगति भने खुलाउन सकेन।

नेपाल–भारतबीचको सन् १९५० को शान्ति तथा मैत्री सन्धिलगायत समग्र द्विपक्षीय विषय पुनरावलोकन गरी सुझाव दिन गठित ईपीजीले २०७५ असारमै साझा प्रतिवेदन तयार पारेको थियो। सहमतिअनुसार पहिले भारतीय प्रधानमन्त्री मोदीले प्रतिवेदन बुझ्ने तय भए पनि भारतको अनिच्छा र समय अभावका कारण उक्त प्रतिवेदन दुवै देशका सरकारसमक्ष औपचारिक रूपमा पेस हुन सकेको छैन। प्रधानमन्त्री शाहको भारत भ्रमणपछि द्विपक्षीय सहमति कार्यान्वयनको चर्चा चल्दै गर्दा ईपीजी प्रतिवेदन ग्रहण गर्ने विषय पुनः चासोमा परेको हो।

यसैबीच, मन्त्रालयले भ्रमणका क्रममा भएका सहमतिहरूलाई व्यवहारमा उतार्न सम्बन्धित मन्त्रालय र निकायहरूसँग निरन्तर ‘फलोअप’ भइरहेको स्पष्ट पारेको छ। साथै, भ्रमणका मुख्य उपलब्धिहरू सर्वसाधारणलाई सहज रूपमा बुझाउन मन्त्रालयले १२ वटा क्यारोसेल ग्राफिक्ससमेत तयार पारेर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको प्रवक्ता क्षेत्रीले बताए।