पोखरा। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको राजस्व सङ्कलनको मुख्य आधार भारतीय नम्बर प्लेटका सवारीसाधनको अस्थायी पैठारी अवधि थप गर्दा प्राप्त हुने शुल्क बनेको छ । अन्तर्राष्ट्रिय उडान सुरु भए पनि कार्गो सेवा सञ्चालनमा नआउँदा विमानस्थलबाट हुने आयात–निर्यात कारोबारमार्फत भन्सार राजस्व प्राप्त हुन नसकेको कार्यालयले जनाएको छ।
कार्यालयको विवरणअनुसार चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चौमासिकमा कुल १६ लाख ४७ हजार २३१ रुपैयाँ राजस्व सङ्कलन भएको छ। यस अवधिमा सङ्कलित राजस्वको अधिकांश हिस्सा भारतीय सवारीसाधनको अस्थायी पैठारी अवधि थपबापत प्राप्त भएको हो। मासिक रूपमा हेर्दा साउनमा ३ लाख १७ हजार, भदौमा १ लाख ५३ हजार, असोजमा ६ लाख ९७ हजार २८ र कात्तिकमा ४ लाख ८० हजार २०३ रुपैयाँ राजस्व सङ्कलन भएको छ। जसमध्ये असोज महिनामा सबैभन्दा बढी राजस्व सङ्कलन भएको देखिन्छ।
विमानस्थल भन्सार कार्यालयका लेखा प्रमुख डिल्लीराम सुवेदीका अनुसार भारतबाट नेपाल आउने सवारीसाधनले निश्चित अवधिसम्म सञ्चालन गर्न भन्सार कार्यालयबाट अस्थायी पैठारी अनुमति लिनुपर्ने प्रावधान छ। अनुमति अवधिभन्दा बढी नेपालमा बस्न चाहेमा तोकिएको दैनिक महसुल बुझाएर म्याद थप गर्नुपर्छ। भारतबाट अस्थायी पैठारीमा ल्याइएका कार, जिप, बस तथा भ्यानको म्याद थप गर्दा दैनिक ६ सय रुपैयाँ र मोटरसाइकल तथा स्कुटरको दैनिक २ सय रुपैयाँ महसुल लाग्ने उनले जानकारी दिए। पोखरा तथा आसपासका पर्यटकीय क्षेत्रमा घुम्न आउने भारतीय पर्यटकले प्रयोग गर्ने सवारीसाधनको अस्थायी पैठारीबाट प्राप्त हुने शुल्क नै हाल कार्यालयको आम्दानीको प्रमुख आधार बनेको छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट गत असोज ७ गतेदेखि फ्लाई दुबईले दुबई–पोखरा–दुबई मार्गमा नियमित सिधा उडान सञ्चालन गर्दै आएको छ। यद्यपि, कार्गो सेवा अझै सञ्चालनमा आउन सकेको छैन। कार्गो सेवा सुरु नभएका कारण अन्तर्राष्ट्रिय उडानबाट हुने मालसामानको आयात–निर्यातमार्फत भन्सार राजस्व पाउन नसकिएको भए पनि भविष्यमा कार्गो सेवा सुरु भएपछि यसबाट थप राजस्व सङ्कलन हुने कार्यालयको अपेक्षा छ।
स्मरण रहोस्, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन २०७९ पुस १७ गते भएको थियो भने विमानस्थल भन्सार कार्यालय सोही महिनाको अन्तिम सातादेखि सञ्चालनमा आएको हो।