नागरिक लगानी कोषको पुँजी १० अर्ब पुर्‍याउने प्रस्ताव, प्राइभेट इक्विटी र भेन्चर क्यापिटलमा पनि लगानी गर्ने तयारी

नागरिक लगानी कोषको पुँजी १० अर्ब पुर्‍याउने प्रस्ताव, प्राइभेट इक्विटी र भेन्चर क्यापिटलमा पनि लगानी गर्ने तयारी

काठमाडौं । सरकारले नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ मार्फत कोषको पुँजी वृद्धि गरी १० अर्ब रुपैयाँ पुर्‍याउने प्रस्ताव गरेको छ। बदलिँदो आर्थिक परिवेशअनुसार कोषको पुँजी संरचना, लगानीका क्षेत्र तथा कार्यक्षेत्र विस्तार गर्नका लागि यो संशोधन विधेयक अघि बढाइएको हो।

प्रतिनिधिसभाको अर्थ समितिमा विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कोषलाई आधुनिक वित्तीय उपकरण तथा नयाँ लगानीका क्षेत्रमा प्रवेश गराउन कानुनी व्यवस्था परिमार्जन गर्न लागिएको जानकारी दिए।

प्रस्तावित संशोधनअनुसार अब नागरिक लगानी कोषले निजी इक्विटी (प्राइभेट इक्विटी) र भेन्चर क्यापिटललगायतका क्षेत्रमा समेत लगानी गर्न सक्नेछ। यसका साथै पूर्वाधार, उत्पादनमूलक क्षेत्र र आवास क्षेत्रमा लगानी विस्तार गर्ने सरकारको मुख्य उद्देश्य रहेको अर्थमन्त्री वाग्लेले बताए। मध्यम वर्गको विस्तारलाई प्राथमिकतामा राख्दै शिक्षा, स्वास्थ्य, रोजगारी, आधुनिक सेवा तथा आवास क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकता उनले औँल्याए।

विधेयकमार्फत कोषको सञ्चालक समिति र कार्यकारी व्यवस्थापनको जिम्मेवारी स्पष्ट पार्ने प्रस्तावसमेत गरिएको छ। संस्थागत सुशासन, पारदर्शिता तथा जोखिम व्यवस्थापनसम्बन्धी व्यवस्थालाई थप व्यवस्थित र समयानुकूल बनाउने उद्देश्य राखिएको अर्थमन्त्री वाग्लेले प्रस्ट पारे।

विधेयकका प्रमुख व्यवस्थाबारे जानकारी दिँदै उनले दफा २ अन्तर्गत कोषको परिभाषा र कार्यक्षेत्र विस्तार गर्न लागिएको बताए। यस क्रममा डिबेन्चर, ऋणपत्र तथा धितोपत्रलगायतका वित्तीय उपकरणको परिभाषा परिमार्जन गर्नुका साथै मुद्दती निक्षेप, सरकारी सुरक्षणपत्र तथा अन्य वित्तीय उपकरणलाई समेत लगानीको दायरामा समेट्ने प्रस्ताव गरिएको छ।

कोषको पुँजी संरचनामा समेत परिवर्तन गर्न प्रस्ताव गरिएको छ। हाल ८ अर्ब रुपैयाँ रहेको कोषको पुँजी बढाएर १० अर्ब रुपैयाँ पुर्‍याउने, सेयर कित्ता ८ करोडबाट १० करोड पुर्‍याउने तथा चुक्ता पुँजी ३ अर्ब रुपैयाँबाट बढाएर ६ अर्ब ८० करोड रुपैयाँ कायम गर्ने प्रस्ताव विधेयकमा समेटिएको छ।

पुरानो कानुनी व्यवस्थाले समेट्न नसकेका आधुनिक लगानीका क्षेत्रलाई समेट्न यो संशोधन अत्यावश्यक भएको बताउँदै अर्थमन्त्री वाग्लेले भने, ‘पहिलेको कानुनी व्यवस्थामा प्राइभेट इक्विटी, भेन्चर क्यापिटलजस्ता विषय समेटिएका थिएनन्। अब ती क्षेत्रमा पनि लगानी गर्नुपर्ने अवस्था आएको छ। पूर्वाधार, उत्पादनमूलक क्षेत्र एवं आवास क्षेत्रमा लगानी विस्तार गर्नुपर्नेछ।’

बदलिँदो आर्थिक आवश्यकता र लगानीका नयाँ सम्भावनालाई सम्बोधन गर्दै नागरिक लगानी कोषलाई थप प्रतिस्पर्धी, आधुनिक र प्रभावकारी वित्तीय संस्थाका रूपमा विकास गर्ने उद्देश्यले यो विधेयक ल्याइएको उनले जानकारी दिए।