आज नवरात्रको आठौँ दिन, महागौरीको पूजा गरिँदै

आज नवरात्रको आठौँ दिन, महागौरीको पूजा गरिँदै

काठमाडौं।बडाकाठमाडौं।को आठौँ दिन आज देशभर आश्विन शुक्ल अष्टमीका अवसरमा महाअष्टमी पर्व भव्य रूपमा मनाइँदैछ। यस विशेष दिनमा दुर्गा भवानीका साथै महाकाली, महालक्ष्मी र महासरस्वतीको विधिपूर्वक पूजा आराधना गर्ने परम्परा छ।

वैदिक सनातन परम्परा अनुसार महाअष्टमीका दिन दुर्गा भवानीलाई सर्वाधिक शक्तिशाली बनाउने दिनका रूपमा लिइन्छ। आजको दिन देशभरका दसैँघर, कोत तथा शक्तिपीठहरूमा विधिपूर्वक पूजा अर्चना गर्नुका साथै दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवी स्तोत्रको पाठ गरिन्छ।

पशुबलिका सम्बन्धमा शास्त्रीय मान्यता

महाअष्टमीमा राज्यका विभिन्न शक्तिपीठहरूमा पशुबलीसहित विशेष पूजा गरिन्छ। धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमका अनुसार शास्त्रमा सात्विक, राजस र तामस गरी तीन प्रकारका पूजाको वर्णन गरिएको छ।

जल, चन्दन र अक्षताले गरिने पूजा सात्विक हो भने सात्विक पूजाका साथै पशुबली दिइने पूजालाई राजस पूजा भनिन्छ। यस्तै, मदिरासमेत चढाएर गरिने पूजालाई तामस पूजा भनिन्छ।

उनका अनुसार पशुबलीलाई शास्त्रीय मान्यता प्राप्त छ र यसले पशुलाई मोक्ष दिलाई माथिल्लो योनीमा जन्म लिन मद्दत गर्दछ। यद्यपि, ब्राह्मणहरूका लागि भने पशुबली बर्जित गरिएको छ। राज्य सञ्चालकका लागि प्रभु शक्ति, मन्त्र शक्ति र उत्साह शक्तिका लागि पशुबली आवश्यक मानिन्छ, जुन दुर्गा भवानीबाट मात्र प्राप्त हुने शास्त्रीय विश्वास छ।

राति कालरात्री पूजा र ५४ बोका-राँगाको बलि

आजैका दिन राति विशेष संकल्पका साथ ‘कालरात्री’ पूजा मनाइन्छ। महाअष्टमीको राति काठमाडौँको हनुमानढोकास्थित दसैँघरमा राज्यका तर्फबाट ५४ वटा बोका र ५४ वटा राँगाको बलिसहित कालरात्री पूजा गर्ने परम्परा छ।

शक्तिपीठहरूमा श्रद्धालुको भीड

आज बिहानैदेखि काठमाडौँ उपत्यकाभित्रका गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, दक्षिणकाली, बज्रवाराही, बगलामुखी लगायतका शक्तिपीठहरूमा भक्तजनको ठूलो भीड लागेको छ।

त्यसैगरी, उपत्यका बाहिरका गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता, धनुषाको राजदेवी, काभ्रेको पलाञ्चोक भगवती, दोलखाको कालीञ्चोक, डडेल्धुराको उग्रतारा र ताप्लेजुङको पाथीभरा लगायतका प्रसिद्ध मन्दिरहरूमा पनि पूजाआजा र बलिसहित दर्शन गर्ने श्रद्धालुहरूको घुँइचो छ।

सवारी साधन र हातहतियारको पूजा

आजका दिन कलपूर्जा, हातहतियार तथा यातायातका साधनहरूलाई देवीको शस्त्र-अस्त्रका रूपमा मानेर सफासुग्घर गरी पूजा गर्ने गरिन्छ। पशुबलि नदिनेहरूले भने आफ्नो कुल परम्परा अनुसार काँक्रो, घिरौँला, कुभिण्डो, मूला र नरिवल आदि चढाएर बली पूजा सम्पन्न गर्दछन्।