चाडपर्वका लागि देशभर ५० हजारभन्दा बढी प्रहरी परिचालन, सुरक्षा व्यवस्था कडा

चाडपर्वका लागि देशभर ५० हजारभन्दा बढी प्रहरी परिचालन, सुरक्षा व्यवस्था कडा

काठमाडौँ। बडादसैँ, तिहार, नेपाल संवत् तथा छठपर्वलाई लक्षित गरी नेपाल प्रहरीले देशभर ५० हजार ४५८ प्रहरी परिचालन गरेको छ। चाडपर्वको समयमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण, नागरिकको सुरक्षा र सहज आवागमन सुनिश्चित गर्न प्रहरीले ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना–२०८३’ कार्यान्वयनमा ल्याएको हो।

विशेष सुरक्षा योजनाअन्तर्गत चोरी, डकैती, लुटपाट, ठगी, जुवातास, अनलाइन ठगी, सट्टेबाजी, नक्कली नोटको कारोबार र अवैध हुन्डीलगायतका गतिविधि नियन्त्रणलाई प्राथमिकता दिइएको छ। यसका साथै अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुन सक्ने अवैध हातहतियार, पटका, विस्फोटक पदार्थ तथा लागुऔषधको ओसारपसार र तस्करी रोक्न समेत विशेष निगरानी बढाइएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआइजी) अबिनारायण काफ्लेका अनुसार असोज २१ गतेदेखि सुरु भएको यस योजनामा अपराध रोकथाम, सक्रिय प्रहरी परिचालन, सडक दुर्घटना न्यूनीकरण र प्रवधिको प्रयोगमा जोड दिइएको छ।

सुरक्षा योजनाअनुसार काठमाडौँ उपत्यकासहित सातै प्रदेशमा प्रहरी खटाइएको छ। प्रदेशगत विवरणअनुसार कोशी प्रदेशमा सबैभन्दा बढी आठ हजार १३३ प्रहरी खटाइएका छन् भने लुम्बिनी प्रदेशमा सात हजार ९२१, काठमाडौँ उपत्यकामा सात हजार ६६८, मधेश प्रदेशमा सात हजार २३०, गण्डकी प्रदेशमा पाँच हजार १८८, कर्णाली प्रदेशमा पाँच हजार ३१४, बागमती प्रदेशमा चार हजार ४९९ र सुदूरपश्चिम प्रदेशमा चार हजार ५०५ प्रहरी परिचालन भएका छन्। चाडपर्वमा बजारमा हुने भिडभाड र खाली हुने घरहरूको सुरक्षालाई ध्यानमा राखी संवेदनशील क्षेत्रमा निगरानी बढाइएको छ।

यात्रुको सुविधा र सुरक्षाका लागि देशभर ४०८ स्थानमा तथा सीमावर्ती क्षेत्रमा १०८ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएका छन्। लामो दूरीका सवारी साधन छुट्नुअघि नै चालकको अनुमतिपत्र, मादक तथा लागुऔषध सेवन र सवारीको यान्त्रिक अवस्था जाँच गर्ने व्यवस्था मिलाइएको छ। साथै राजमार्गका होटल तथा पसलमा हुने बढी मूल्य असुली, कालोबजारी र गुणस्तरहीन सामग्री बिक्री रोक्न नियमित अनुगमन भइरहेको छ।

घर छाडेर दसैँ मनाउन जाने नागरिकलाई प्रहरीले विशेष सावधानी अपनाउन आग्रह गरेको छ। यात्राको जानकारी सामाजिक सञ्जालमा सार्वजनिक नगर्न, बहुमूल्य सामग्री घरमा नराख्न, झ्यालढोकामा बलियो ताल्चा लगाउन र छिमेकी वा नजिकको प्रहरी कार्यालयलाई जानकारी दिएर मात्र जान परामर्श दिइएको छ।

यस वर्षको सुरक्षा व्यवस्थामा सीसीटीभी, ड्रोन, तालिमप्राप्त कुकुर र बडी क्यामेरा जस्ता आधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकता दिइएको छ। डिजिटल तथा वित्तीय ठगीबाट जोगिन नागरिकलाई ओटीपी, पिन वा बैंकिङ विवरण कसैसँग सेयर नगर्न सचेत गराइएको छ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सम्पूर्ण मातहत निकायलाई चाडपर्व सुरक्षा योजना कडाइका साथ पालना गराउन निर्देशन दिएका छन्।