प्रधानमन्त्री ओली खतरामुक्त, पुनः मिर्गौला प्रत्यारोपणको तयारी

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओली खतरामुक्त रहेको चिकित्सकहरूले बताएका छन् । प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार भइरहेको र उनी खतरामुक्त रहेको निजी चिकित्सक डा. दिव्या सिंह शाहले जानकारी दिइन् ।‘प्रधानमन्त्री खतरामुक्त हुनुहुन्छ’ शाहले भनिन् ,’तर स्वास्थ्य जोखिम भने कायम नै छ । त्यस कारण एक साता उहाँ अस्पतालमानै रहनुहुन्छ ।’


प्रधानमन्त्रीको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा मङ्गलवार एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो भने आज उपचारमा संलग्न चिकित्सकहरूले पत्रकार सम्मेलन गरी स्वास्थ्य अवस्थाबारे जानकारी दिएका हुन् ।

साथै प्रधानमन्त्री ओलीको पुनः मिर्गौला प्रत्यारोपणका लागि पनि तयारी भइरहेको निजी चिकित्सक शाहले जानकारी दिइन् । यसबारे अन्तिम निर्णय लिनुपूर्व छलफल भइरहेका बेला एपेन्डिसाइटिसको अपरेशन गर्नु परेको भन्दै उनले भनिन्, ‘नियमित डायलासिस गर्नुपर्ने भयो भने तुरुन्तै गरौंला । नभए अलि समय पछाडि होला ।’

प्रधानमन्त्री ओलीको करिब १२ वर्ष अगाडि मिर्गौला प्रत्यारोपण गरिएको थियो । पछिल्लो समय मिर्गौलाले राम्रोसँग काम नगरेपछि डायलासिस गर्न थालिएको थियो ।डा. सिंहका अनुसार एपेन्डिसाइटिसको अप्रेसनका क्रममा पनि दुई पटक डायलासिस गरिएको छ ।