काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नवनियुक्त केन्द्रीय कमिटी सदस्यहरूलाई उच्च सक्रियता, कार्यक्षमता र योजनाबद्ध कार्यशैलीका साथ आफ्नो जिम्मेवारी पूरा गर्न निर्देशन दिएका छन्।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा मनोनीत केन्द्रीय सदस्यहरूलाई शपथ गराउँदै अध्यक्ष ओलीले जिम्मेवारी पाउनु र त्यसलाई सफलतापूर्वक पूरा गर्नु फरक कुरा भएको बताए। विगतको योगदान र नेतृत्वको विश्वासका आधारमा जिम्मेवारी पाए पनि अब कामको नतिजाबाटै आफ्नो क्षमता प्रमाणित गर्नुपर्ने उनको भनाइ थियो।
अध्यक्ष ओलीले जिम्मेवारी वहन गर्नुलाई परीक्षाको संज्ञा दिँदै विगतको योगदानसँगै नयाँ भूमिकामा देखाउने performance नै मुख्य मूल्यांकनको आधार हुने स्पष्ट पारे। उनले पार्टीका नीति, सिद्धान्त र निर्णयहरूलाई कार्यकर्ता तथा जनतामाझ प्रभावकारी रूपमा पुर्याउन, अनुशासन कायम राख्न र नेतृत्वप्रति इमानदार रहन आग्रह गरे।
ओलीले केवल सक्रियता मात्रै नभई कार्यक्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिए। स्पष्ट योजना बनाएर प्राथमिकतापूर्वक काम गर्नुपर्ने उल्लेख गर्दै उनले बिनायोजना एकैपटक धेरै काममा हात हाल्दा अपेक्षाअनुसार नतिजा नआउने बताए।
नीति निर्माण र निर्णय प्रक्रियामा सही बाटो रोज्नुपर्ने बताउँदै अध्यक्ष ओलीले समस्या आए समाधानतर्फ केन्द्रित हुनुपर्ने धारणा राखे। वर्तमान राजनीतिक परिस्थिति जटिल रहेको र एमालेविरुद्ध अझै घेराबन्दी जारी रहेको दाबी गर्दै उनले अप्ठ्यारो परिस्थितिमा उपदेश दिनेभन्दा साथ दिनेहरू कम हुने भएकाले यथार्थमा रहेर अघि बढ्नुपर्ने बताए।